काठमाडौं– फ्रान्समा विद्यार्थी आन्दोलनका क्रममा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ भन्ने अनौठो नारा सामाजिक सञ्जालमा भाइरल बनेको छ। जेन–जी प्रदर्शनकारीहरूले आन्दोलनमा घुसपैठ गरेर सूचना सङ्कलन गर्न खोजेको आशङ्का गरिएका प्रहरी तथा सुरक्षा निकायको मजाक उडाउन यो वाक्य प्रयोग गरिरहेका छन्।
अरबी शब्द ‘बिस्मिल्लाह’ को अर्थ ‘अल्लाहको नाममा’ हुन्छ भने फ्रान्सेली वाक्यांश ‘से ले तेनैब्रे’ को मोटामोटी अर्थ ‘यो अन्धकार हो’ भन्ने हुन्छ। दुवैलाई जोड्दा ‘अल्लाहको नाममा, यो अन्धकार हो’ भन्ने अर्थ लागे पनि यो स्वाभाविक फ्रान्सेली वाक्य भने होइन। यसको अस्वाभाविक शब्द संयोजन र अनौठो प्रस्तुतिले नै यसलाई चर्चित बनाएको हो।
स्न्यापच्याटबाट सुरु भएको चर्चा
द न्युयोर्क टाइम्स को रिपोर्टअनुसार यो वाक्य स्न्यापच्याटमार्फत चर्चामा आएको हो। एक व्यक्तिले विद्यार्थी आन्दोलनका आयोजकहरूको निजी च्याट समूहमा प्रवेश गर्न खोज्दै विभिन्न नामका प्रोफाइलबाट सन्देश पठाएका थिए। ती सन्देशमा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ लेख्नुका साथै ‘हामी सबै कुरा तोडफोड गर्नेछौँ’ भन्ने आशयको सन्देश पनि थियो।
सन्देशको भाषा र शैली अनौठो लागेपछि केही प्रयोगकर्ताले स्क्रिनसट लिएर सामाजिक सञ्जालमा सार्वजनिक गरे। त्यसपछि ती सन्देश प्रहरी वा सुरक्षा निकायका व्यक्तिले आन्दोलनकारीको पहिचान बनाएर पठाएको हुन सक्ने आशङ्का फैलियो। यद्यपि, सन्देश पठाउने व्यक्ति प्रहरी नै भएको पुष्टि भएको छैन।
प्रदर्शनकारीहरूले त्यसपछि यही वाक्यलाई प्रहरीको सम्भावित घुसपैठ र निगरानी प्रयासमाथि व्यङ्ग्य गर्न प्रयोग गर्न थाले। फ्रान्सबाट सुरु भएको यो नारा बेल्जियम र जर्मनीका केही विरोध प्रदर्शनमा समेत सुनिएको बताइएको छ।
के हो विद्यार्थी आन्दोलनको पृष्ठभूमि?
फ्रान्समा विद्यार्थीहरूले जीर्ण विद्यालय भवनको मर्मत, शिक्षक अभावको अन्त्य, कक्षामा विद्यार्थीको सङ्ख्या घटाउनुपर्ने र पढाइको दबाब कम गर्नुपर्ने माग गर्दै प्रदर्शन सुरु गरेका थिए।
प्रदर्शनका क्रममा केही स्थानमा हिंसा, आगजनी र तोडफोडका घटना भएका थिए। उपलब्ध विवरणअनुसार कम्तीमा २४ विद्यालयमा आगजनी वा तोडफोड भएको थियो भने करिब आठ हजार मानिस पक्राउ परेका थिए। आन्दोलनमा मजदुर सङ्गठन र अन्य समूहसमेत सहभागी भएपछि महँगीविरुद्धका प्रदर्शन पनि थपिएका थिए।
फ्रान्सको यो नारा भारतमा विद्यार्थी आन्दोलनका क्रममा चर्चित बनेको ‘वास्तेगुना हुइँया’ भन्ने अभिव्यक्तिसँग पनि तुलना गरिएको छ। उक्त अभिव्यक्ति भाइरल भएको अंग्रेजी वाक्य ‘क्यान आइ गेट अ होया’ को बिग्रिएको रूप थियो। दुवै उदाहरणले सामाजिक सञ्जालमा अनौठा र अर्थहीनजस्ता लाग्ने शब्दसमेत कसरी विरोधको प्रतीक बन्न सक्छन् भन्ने देखाउँछन्। एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।