राजविराज- अवैद्य रुपमा भारत निकासी हुँदै गरको १ हजार ५ सय किलो मरिचसहित १ जनालाई सप्तरीमा प्रहरीले पक्राउ गरेको छ।
सुनसरीबाट प्रवेश गरी सप्तरीको छिन्नमस्ता हुँदै भारत निकासी हुन लागेका मरिच हनुमाननगर कंकालिनी नगरपालिका-३ स्थित सरिफ रहमानको कवाडी पसलबाट नियन्त्रणमा लिइएको हो।
मरिच बोकेको स १ ज ४४८ नम्बरको मिनि ट्रकका चालक सप्तरीको रुपनी गाउँपालिका-१ का भुपेन्द्र प्रसाद शर्मालाई प्रहरीले नियन्त्रण गरेको छ।
सोमबार साँझ ८:३८ मा भारदह प्रवेश गरेको ट्रक प्रहरीको निगरानीपछि रातभर पूर्व-पश्चिम राजमार्ग तथा आसपासका सहायक मार्गमा ओहोरदोहोर गरेर सोमबार करिब १ वजे पुनः भारदह पुगेको थियो।
प्रहरीले पिछा गरेको जानकारीपछि कवाडी पसलमा मरिच अनलोड गरेर भाग्ने क्रममा करिव १८ घन्टा पिछा गरेर गाडी र चालक नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर प्रतिक विष्टले जानकारी दिए।
मरिच, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।
यसअघि गत वैशाख ६ गते पनि प्रहरीले २ हजार ५ सय किलो मरिच बोकेको को १ च ९०३९ नम्बरको पिकअप तथा चालक सुनसरीको छिटाहा ६ का २८ वर्षीय सुन्दरलाई छिन्नमस्ता गाउँपालिका-३ स्थित नेपाल-भारत सिमा क्षेत्रबाट पक्राउ गरेको थियो।
दुवै घट्नामा एकै व्यक्तिको संलग्ता हुनसक्ने आशंकाका आधारमा आवश्यक अनुसन्धान भईरहेको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।