काठमाडौं- संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिले बाहिरी चक्रपथ आयोजनाको काम आगामी आर्थिक वर्षभित्रै शुरु गर्न सरकारलाई निर्देशन दिएको छ।
आईतबार बसेको समितिको बैठकले अर्थ मन्त्रालयलाई निर्देशन गर्दै आर्थिक श्रोतको सुनिश्चितता तथा बजेट विनियोजन गर्न र सहरी विकास मन्त्रालयलाई पूर्वाधार निर्माणको काम शुरु गर्न निर्देशन दिएको हो।
‘काठमाडौं उपत्यको बृहत्तर विकास र आधुनिक एवं पर्यावरणमैत्री व्यवस्थित सडक तथा शहरी पूर्वाधार निर्माणका लागि महत्वपूर्ण मानिएको बाहिरी चक्रपथ आयोजनालाई ल्यान्डपुलिङ (जग्गा एकीकरणको मोडलमा) आगामी आर्थिक वर्षदेखि अगाडि बढाउन सहरी विकास मन्त्राललाई निर्देशन गर्दछ। साथै ल्यान्डपुलिङ मार्फत् आयोजना अघि बढाउन अपुग हुने आर्थिक श्रोतको सुनिश्चिताका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिइन्छ,’ समिति सभापति कल्याणी खड्काले बैठकको निर्णय सुनाउँदै भनिन्।
विकास तथा प्रविधि समितिमा बोल्दै सहरी विकास मन्त्री मोमम्मद ईस्तियाक राईले आयोजनाको काममा ढिलाई हुँदै गएको र चुनौती थपिँदै गएको बताएका थिए।
उनले तत्काल काम शुरु गर्न सम्भव नरहेको धारणा राखेका थिए। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै १२ वर्ष पुरानो भएको र पुरानो डिपिआरअनुसार काम गर्न नसकिने मन्त्री राईको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।