काठमाडौं- संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र संचालित संरचनामा नयाँ भाडादर निर्धारण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। करार सम्झौता सकिएका सबै संरचनाहरु दुई महिनाभित्र हटाई नयाँ बोलकबोल्मार्फत भाडामा लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।
करार समय सकिइसकेका पसललगायत भाडामा लगाइएका सबै संरचनाको दुई महिनाभित्र बोलकबोल गराई नयाँ भाडादर कायम गर्न पनि समितिले निर्देशन दिएको छ।
त्यसैगरी, प्राधिकरणले उठाउन पर्ने करिब २ अर्ब रुपैयाँ बराबर बक्यौता रकम असुल उपर गरी त्यसको प्रतिवेदन लेखा समितिमा पेस गर्न पनि समितिले निर्देशन दिएको छ।
मुद्दामा रहेका संघ संस्थाको हकमा महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरी मुद्दा मामिला किनारा लगाउन पनि समितिले निर्देशन दिएको छ।
बक्यौता तिर्न बाँकी रहेका अघिकांश संस्थाहरु आर्थिक रुपमा टाट पल्टिएका र व्यवसाय नै बन्द गरिसकेका रहेकोमा त्यस्ता स्वदेशी तथा विदेशी व्यक्ति र कम्पनीलाई कालोसुचीमा राखेर बक्यौता असुलको काम अगाडि बढाउनसमेत समितिले निर्देशन दिएको छ।
लेखा समितिले नागरिक उड्डयन प्राधिकरणसँग बक्यौता असुल गर्ने स्पष्ट कार्ययोजना के छ भनेरसमेत प्रश्न उठाएको छ। प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले असमी बक्यौता उठाउने कार्ययोजना र सम्झौता बमोजिम भाडामा लगाईएका संस्थाहरुको सम्बन्धमा समितिमा कार्ययोजना पेश गरेपनि समितिका अधिकांश सदस्यहरुले भने प्राधिकरणको कार्ययोजना सन्तोषजनक नरहेको भन्दै प्रश्न उठाएका छन्।
समितिका सभापति भरत शाहले अर्बौँ रुपैयाँ बराबरको बक्यौता रकम असुल गर्नका लागि प्राधिकरणले निकै अस्पष्ट र कमजोर कार्ययोजना पेस गरेको भन्दै असन्तुष्टि जनाएका थिए।
प्राधिकरणका महानिर्देशक गौतमले प्रस्तुत गरेको कार्ययोजना तदरुकताका साथ कार्यान्वयन गरी नियमित रुपमा प्रतिवेदन लेखा समितिमा पेश गर्न पनि समितिले निर्देशन दिएको छ।
भन्सार कार्यालय, नेपाल वायुसेवा निगमलगायत सरकारी निकायबाट उठाउनुपर्ने बक्यौता रकम उठाउने वा मिनाहा गर्ने सन्दर्भमा सरकारको आधिकारिक धारणा पनि समितिले मागेको छ।
‘सरकारी कार्यालयहरुको बक्यौता छुट मिनाहा गर्ने हो अथवा असुल उपर गर्ने हो त्यसको नेपाल सरकारबाट जतिसक्दो चाँडो धारणा पेश गर्न निर्देशन दिईन्छ,' आइतबारको बैठकको निर्णय सुनाउँदै सभापति शाहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।