काठमाडौं– सबैभन्दा कम मतदाता रहेको मनाङ सधैं नेपाली कांग्रेसको किल्ला मानिन्थ्यो तर उक्त किल्ला यस पटक दिपक मनाङ्गेको सहयोगमा एमालेका जिल्ला अध्यक्ष पोल्तेन छेवाङ गुरुङले भत्काएका छन्।
एसियाकै उत्कृष्ट स्याउ किसान अब सिंहदबारमा भेटिने छन्। स्याउका लागि मनाङलाई नमुना क्षेत्र बनाउन सफल पोल्तेन गुरुङ अब त्यहाँको विकासका एजेण्डा संसदमा उठाउने जिम्मेवारीमा पुगेका छन्।
पोल्तेनले २ हजार ३ सय मतका साथ विजय सुरक्षित गर्दा कांग्रेसका टेकबहादुर २ हजार २१ मतमा रोकिएपछि नयाँ इतिहास निर्माण भएको हो।
०६४ को पहिलो संविधानसभा चुनावमा एमालेले पहिलोपटक मनाङमा उम्मेदवार उठाएको थियो, त्यतिबेला उसका उम्मेदवारले ४७ भोट पाएका थिए।
२०७० सालको संविधानसभा निर्वाचनपछि एमाले भएका गुरुङ त्यसको पाँच वर्षपछि भएको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा सांसद भएका हुन्।
नेपाली कांग्रेस र राप्रपाको मात्र संगठन रहेको मनाङ जिल्लामा यसपटक एमालेको लालकिल्ला भएको छ । २०४८, ०५१ र ०५६मा एमालले उक्त जिल्लामा उम्मेवार नै पाएको थिएन।
तर त्यसलाई बिर्साउँदै मनाङमा नयाँ संविधान जारी भएपछि भएको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा जित हात पार्दै आफ्नो किल्ला निर्माण गरेको हो ।
०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेको मत ४७ बाट बढेर ८० पुर्याएको थियो। तर ०७० को चुनावको ८० भोट ०७४ को स्थानीय चुनावमा आउँदा बढेर १३ सय कटाउन सफल भएको एमाले प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा आउँदा विजयको इतिहास रच्न सफल भएको हो।
०७० सालको चुनावमा कांग्रेसका टेकबहादुर गुरुङसँग ३ सय मत अन्तरमा पराजित राप्रपाका त्रिपल पी गुरुङको समूह नै एमाले प्रवेश गरेपछि मनाङमा एमालेको जित सुरु भएको हो।
मनाङमा त्रिपल पी र उनका दाजु पोल्देन छोपाङ गुरुङहरुले एमालेको नेतृत्व गर्दै कांग्रेसको गढ भत्काएका हुन्। टेकबहादुर गुरुङबाट अवसर नपाएका कांग्रेसी कार्यकता र राप्रपाका कार्यकताको सहयोग पाएपछि एमालले किल्ला निर्माण गरेको हो।
आफन्त र इस्टमित्रको नाता आधारमा निर्वाचन जित्ने अभियानमा रहेका टेकबहादुरलाई पाल्तेन र मनाङ्गेले ठूलै झट्का दिन सफल भएका हुन्। दीपक मनाङ्गेको इमेज काठमाडौंमा जसरी ‘डन’को छ, मनाङमा भने उनी समाजसेवी बनेर प्रस्तुत भए र प्रदेशसभा खमा चुनाव जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।