जनकपुर- प्रदेश २ मा प्रमुख जिल्ला अधिकारी (सिडियाे)सरह आफ्नै प्रशासक राख्न पाइने विधेयक प्रदेशसभा बैठकमा पेस भएकाे छ।
प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न, जनताको सुविधा र सुशासन कायम राख्न प्रदेश २ सरकारले प्रमुख जिल्ला अधिकारी सरह आफ्नै प्रशासक राख्न पाउने व्यवस्था सहितको 'प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक'ले लामो समयपश्चात् प्रदेशसभामा साेमबार प्रवेश पाएको थियाे।
तेश्रो अधिवेशन सुरु भएदेखि नै प्रदेशसभा अवरुद्ध हुँदै आएको कारण विद्येयकले संसद बैठकमा प्रवेश पाउन सकेको थिएन। तर, प्रदेश सरकार र प्रतिपक्षी दलबीचको सहमतिपश्चात् साेमबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले साे विधेयक संसदमा पेस गरे। सो विधेयक साेमबार नै सर्वसम्मतिले स्वीकृत समेत भएको छ।
यसअघि ५ पटकसम्म बसेको बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित हुँदै आएको थियो। संसद बैठक सुचारु गर्न सत्ताधारी समाजवादी पार्टी र राजपा नेपाल तथा प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल भएकाे थियाे। साे छलफलमा बैठक अवरुद्ध नगर्नेगरी ४ बुँदे सहमति भएपछि साेमबार संसद बैठक बस्न सकेकाे हाे।
सत्ताधारी र प्रतिपक्षी दलबीचकाे बैठकमा प्रदेश सरकारद्वारा स्थानीय तहमा विकास निर्माणका लागि दिइने १ करोड रुपैयाँ बराबरको योजना सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यमार्फत सञ्चालन हुने, जनता आवास कार्यक्रमका सञ्चालनका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यको संयोजकत्वमा समिति गठन गरिने लगायतका सहमति भएको बताइएकाे छ।
त्यसैगरी विरगञ्जस्थित बिपी उद्यानको जग्गामा बिपी उद्यान वा सहिद पार्क स्थानीयको चाहनाअनुसार निर्माण गरिने र मधेश आन्दोलनका सहिदलाई मात्रै होइन अन्य सहिदहरुको नामावली संकलन गरेर राहत सहितका सुविधा दिने सहमति पनि भएको छ।
दलहरुबीचकाे छलफलका कारण निर्धारित समयभन्दा डेढ घण्टा ढिलो करिब साढे ४ बजे मात्रै प्रदेशसभा बैठक सुरु भएकाे थियो। बैठक सुरु हुने बित्तिकै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रतिपक्षी दलसँग भएको सहमतिबारे सभामुखलाई जानकारी गराएका थिए।
साेमबारकाे बैठकमा शून्य र विशेष समयमा बाेल्ने व्यवस्था गरिएकाे थिएन।
प्रदेशसभाको अर्को बैठक बैसाख ३१ गते १ बजे बस्नेछ। सो बैठकमा 'प्रदेश प्रशासन व्यवस्था गर्ने सम्बन्धमा बनेको विधेयक'माथि छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।