काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को संसद बैठक अवरुद्ध गरेको छ।
कांग्रेस सांसदहरुले राजधानी नामकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै सोमबारको बैठक अवरोध गरेका हुन्। बैठकको सुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्र पढेर सुनाएका थिए। अधिवेशन सुरु भएको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य दिएपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अवरोध गरेका हुन्।
कांग्रेसका प्रदेश ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी नामकरणको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने बताए। कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरे। अर्को बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।