काठमाडौं– नेपालको प्रदेश ३ र चीनको गान्सु प्रान्तबीच भगिनी सम्बन्ध गाँसिएको छ।
काठमाडौंमा भएको गान्सु नेपाल आर्थिक तथा व्यापारिक सहयोग प्रवर्द्धन मेलामा दुई पक्षबीच सम्बन्ध गाँस्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिएनले हस्ताक्षर गरे।
भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा सहयोग पुग्ने मुख्यमन्त्री पौडेलले बताए।
गान्सु प्रान्तका गभर्नर ताङले पानी, पहाड र सगरमाथाको हिउँले नेपाल र चीनलाइ जोडेको भन्दै प्रदेश ३ सँगको भगिनी सम्बन्धले दुई देशलाइ थप नजिक बनाएको बताए। यसले दुई देशको सहयोग आदान प्रदानमा झनै महत्व राख्ने उनको भनाइ छ।
यस्तै काठमाडौं महानगरपालिका र चीनको लान्झाउ सहरबीच पनि आर्थिक सहायता र व्यापार प्रवर्द्धन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले नेपाल चीनबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै लगानी आदान प्रदानमा ध्यान दिनु पर्ने बताए।
यसअघि काठमाडौं महानगरसँग र चीनका लान्झाउ, सियान, ल्हासा, सेन्जेन, छेन्दु सहरसँग भगिनी सम्बन्ध स्थापना भइसकेको छ।
नेपालसँगको व्यापार सहजीकरणमा सघाउन गान्सुका प्रान्तपाल ताङ नेतृत्वको टोली ४ दिने नेपाल भ्रमणमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।