काठमाडौं– इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने वडा सदस्यलाई कारबाहीको माग गर्दै इन्जिनियर एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ।
जिल्ला समन्वय समिति सदस्यसमेत रहेका बेदप्रकाश तिमिल्सिनालाई गिरफ्तार गरी तत्काल कारबाहीको माग गर्दै समितिले गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापन पत्र बुझाएको हो।
झोलुंगे पुल उपभोक्ता समितिसँग गरिएको सम्झौतासँग सम्बन्धित विषयलाई लिएर सदस्य तिमिल्सिनाले अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई काट्ने, मार्ने धम्की दिँदै अश्लील शब्दले गाली गरेका थिए।
उनले आफूले भने बमोजिम नभएपछि इन्जिनियरलाई तथानाम गालीगलौज गरेको अडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
गृहमन्त्री समक्ष समितिका सभापति नन्दलाल बन्जाडेले इन्जिनियरहरूमाथि यस प्रकारको घटना श्रृखंलाबद्ध रुपमा भइरहेको र यसअघि पनि सिन्धुली तथा सिन्धुपाल्चोकमा समेत इन्जिनियर कुटिएको विषय दर्शाए।
एनइए प्रदेश ३ को ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले सिन्धुली र सिन्धुपाल्चोकको घटनाका विषयमा आफूलाई जानकारी नभएको र अछाममा इन्जिनियरमाथि ज्यान मार्ने धम्की आएको विषयमा आफूले निर्देशन समेत दिइसकेको जानकारी गराए।
‘अछाममा इन्जिनियरलाई जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिएको विषय त्यहाँ सांसदले पनि अवगत गराउनुभएको थियो। मैले आवश्यक निर्देशन दिइसकेको छु। थप अनुसन्धान गर्ने काम हुन्छ। सरकार नागरिकको जीउधनको सुुरक्षाका लागि सदा संवेदनशील र प्रतिबद्ध छ,’ उनले भने।
ज्ञापन पत्र वाचन गर्दै सभापति बन्जाडेले भने इन्जिनियरको ज्यान लिने धम्की दिएका तिमिल्सिनालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही नगरे इन्जिनियर लगायत प्राविधिक कर्मचारीहरूको सुरक्षाका लागि एसोसिएसन गम्भीर कदम चाल्न बाध्य हुने बताए।
यस्तो छ गृहमन्त्री समक्ष बुझाएको ज्ञापनपत्रको पूर्ण अंश
ज्ञापनपत्रमा सभापति नन्दलाल बन्जाडे र सचिव प्रदीप अधिकारीले हस्ताक्षर गरेका छन्।
‘सामाजिक सञ्जालमा भाइरल भएको अडियो तथा प्राप्त सूचना बमोजिम अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका वडा नं. १ का कथित वडा सदस्य बेद प्रकाश तिमिल्सिनाले सोही जिल्ला स्थित सुदुरपश्चिम प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालय अछामका कार्यालय प्रमुख इ. जंग बहादुर थापा सदस्यता नं. १३३५२ लाई झोलुंगे पुल उपभोक्ता समितिसँग गरिएको सम्झौतासँग सम्बन्धित विषयमा ज्यान मार्ने धम्की दिएको बारेमा यस एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।'
'फिल्डको काममा खटिएका प्राविधिक कर्मचारीहरूलाई कुटपिट, धम्की र अभद्र व्यवहार यसअघि पनि सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा भएको र यस एसोसिएसनले घटनाको तत्काल नै सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराइएको सन्दर्भमा पटक पटक यस्ता घटना दोहोरिएको हुँदा हामी नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं।
लोकतान्त्रिक शासन व्यवस्थामा समेत यस प्रकारको असभ्य, जघन्य र अक्षम्य अपराध प्रति राज्य निरीह देखिनु किमार्थ शोभनीय हुँदैन। त्यसैले नेपाल सरकारले निज वेद प्रकाश तिमिल्सिनालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाहीही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं। अन्यथा इन्जिनियर लगायतका प्राविधिक कर्मचारीहरूको सुरक्षाका सम्बन्धमा यस एसोसिएसन गम्भीर कदम चाल्न बाध्य हुने व्यहोरा समेत यसै ज्ञापन पत्र मार्फत जानकारी गर्दछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।