काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन्। अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पारे।
राष्ट्रिय विभूति सीता(जानकी) जन्मजयन्तीको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तपाई/हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको उल्लेख गर्दै त्यसलाई लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि खुलाए। चीनको ल्हासा हुँदै काठमाडाैं र काठमाडौंबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने उनकाे भनाइ थियाे।
अध्यक्ष दाहालले लुम्बिनी–पशुपति–जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बन्न जरुरी रहेको पनि बताए। उनले नेपाल र भारत दुबै मुलुकका शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको पनि दाबी गरे।
‘दुबै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुबै देशका शक्तिपीठहरुलाई जोडेर एउटै शक्तिपीठ सर्किट बनाउने योजनाका साथ विज्ञहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष दाहालले भने, ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुबै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ।’
अध्यक्ष दाहालले आफूले पछिल्लो पटक भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयलाई जोड दिएर छलफल गरेको पनि स्मरण गराए। त्यस अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय विभूतिद्धय भृकुटी र सीताको महत्वलाई उजागर गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।