विराटनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औं महाधिवेशनको मिति तोक्न दबाब दिन जिल्ला सभापतिहरुलाई हस्ताक्षर सङ्कलन अभियान चलाउन सुझाव दिएका छन्।
नेता काेइरालाले पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन नहुने जिकिरसमेत गरे। उनले भने, ‘महाधिवेशन भएन भने नेपाली कांग्रेस अझ कमजोर हुन्छ।'
जागरण अभियानअघि संगठन निर्माणमा ध्यान केन्द्रित नभएको भन्दै उनले असन्तुष्टि जनाए। ‘जागरण अभियानका क्रममा म काभ्रे खटिएको छु। तर, काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो सङ्गठन छैन, कहाँ र कसलाई गर्ने जागरण?’, उनले नेतृत्वलाई प्रश्न गर्दै भने, ‘त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ।’
नेपाल महिला संघ मोरङले विराटनगरमा आयोजना गरेको प्रशिक्षणमा नेता कोइरालाले भने, ‘हामी सरकार अनुशासनमा छैन भनेर आलोचना गर्छौं। तर, अनुशासनको कसीमा पहिले आफूलाई हेरौ।’
पार्टी विधानअनुरुप सञ्चालित नभएको प्रति उनले चिन्ता व्यक्त गरे। ‘हामी सरकारले संविधान उल्लङ्घन गर्याे भन्छौँ। तर, के नेपाली कांग्रेस पार्टी चाहिँ आफ्नो विधानअनुसार चलेको छ?’
नेता काेइरालाले कार्यकर्तालाई लोकतान्त्रिक आचरण, व्यवहार र संस्कार देखाउन आग्रह गरे। उनले महासमितिको निर्णयलाई अटेर गरेर कांग्रेस नेतृत्वले विधिको शासन नमानेको पार्टी सभापतिप्रति आक्रोश व्यक्त गरे। उनले भने, ‘यस्तो नेतृत्वले प्रधानमन्त्री ओलीलाई कुन नैतिक बलले पाठ सिकाइरहेका छन्?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।