काठमाडौं– नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको छ।
महासंघको टोलीले सोमबार सभामुख महरालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रताविरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन्।
महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत गर्ने व्यवस्था, जरिवानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्था लगायतले प्रेसमाथि अंकुश लगाउन खोजेको बताए। काउन्सिललाई पूर्ण रुपमा सरकारको नियन्त्रणमा राख्ने र जरिवाना र क्षतिपूर्ति मनलाग्दी तोक्न सकिने व्यवस्था हटाउनुपर्ने उनले माग गरे। उनले आफूहरुको आन्दोलन सरकार र लोकतन्त्रविरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट पारे।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यस किसिमका व्यवस्था हटाउन सभामुखको ध्यानाकर्षण गराए। उनले भने, 'मिडिया काउन्सिल विधेयक पाइला पाइलामा सरकारसँग सोधेर मन्त्रालयसँग सोधेर मात्रै चल्नुपर्ने गरी ठिंगुराएर राखिएको अवस्थामा छ।'
महासंघको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख महराले विधेयकबारे आफूले सञ्चारमन्त्रीसँग छलफल गर्ने भन्दै राष्ट्रियसभाका अध्यक्ष र विषयगत समितिका सभापतिलाई भेट्न सुझाए।
संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिँदै आएको छ।
सम्बन्धित समाचार
आमसञ्चार विधेयक अझै कडा, जरिवाना मात्रै एक करोडसम्म
प्रेसलाई अंकुश लगाउने कानुन ल्याउन लागिएको विरोधमा पत्रकार महासंघ आजदेखि आन्दोलनमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।