काठमाडौं– दक्षिणपूर्वी एसियाली मुलुक भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन्।
संयुक्त राष्ट्र संघको बैसाख दिवसका अवसरमा भियतनामले त्यहाँको हा नाम प्रान्तमा आइतबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिए।
‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ उद्घाटन भएको तीनदिने सेम्मलनमा भियतनामका प्रधानमन्त्री न्गुुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न सो कार्यक्रम भियतनामको महत्वपूर्ण प्रयास भएको बताएका थिए।
त्यस्तै म्यानमाका राष्ट्रपति युविन मिन्तले बौद्धधर्मका शिक्षा तथा दैनिक जीवनका यसको उपयोगका विषयमा चर्चा गरेका थिए।
भारतका उपराष्ट्रपति वेन्काइ नाइडुले बौद्ध दर्शन व्यवहारमा लागू गरेपछि शान्ति तथा दिगो समाज प्राप्त गर्न सकिने बताएका थिए।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलेले भने सम्मेलनको सफलताको सन्देश पठाउँदै विश्वमा शान्ति र दिगो समाजका लागि शुभकामना व्यक्त गरेको पत्र पढेर सुनाएका थिए।
प्रधानमन्त्री ओली गत बिहीबार दक्षिणपूर्वी एसियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा गएका थिए।
भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ७ दिने भ्रमणमा निस्केका ओली भोली कम्बोडिया जाने कार्यक्रम छ।
यसअघि नेपाल र भियतनामबीच कूटनीतिक र सरकारी राहदानीबाहकलाई प्रवेषाज्ञा छुट दिने लगायतका केही सहमति भएका थिए।
४२ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै भ्रमणमा निस्केका ओली जेठ १ गते स्वदेश फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।