काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले डा बाबुराम भट्टराईमा 'फ्रस्टेसन' देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिक नभएको भन्दै प्रतिवाद गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो बताएका हुन्। पूर्व प्रधानमन्त्री भट्टराई लगत्तै आफ्नो धारणा राख्न 'रोस्टम'मा पुगेका सांसद पाण्डेले 'डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको' दाबी गरेका हुन्। उनले सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै भट्टराईको टिप्पणी सोही किसिमको 'फ्रस्टेसन' जस्तै भएको तर्क गरे।




उनले भने, '१९८० को दशकमा पूर्व कम्युनिष्टहरु पनि जुन देशमा क्रान्तिहरु गर्न सकेनन् र असफल भइसकेपछि निरास मानिसहरुले नयाँ आधुनिकतावादको कुरा गर्न थाले। त्यसपछि कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो। अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र 'क्रिटिकल मोडनिस्ट भिउज'हरु त्यस सिलसिलामा जन्म भए। 'राइटिस्ट'हरुभित्र पनि एक खालका 'राइटिस्ट'हरुबाट विरक्तिएकाहरु 'लेफ्ट मुभमेन्ट'बाटै विरक्तिएकाहरुले यस खालका विचारहरु ल्याए। तर, त्यो विचार पनि कुनै नयाँ परिणाममुखी, कुनै कुराहरुबाट त्यो निर्देशित थिएनन्। वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको 'फ्रस्टेसन'को अभिव्यक्ति थियो। यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर साबमा पनि व्यक्त हुन्छ।'
'आधा निद्रामा लेखिएको' भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्दर्भिक नभएको दाबी पनि सांसद पाण्डेले गरे।
उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादन वृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दैगर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने धारणा राखे। अन्तर प्रदेशको समन्वय गर्ने गरी स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।