काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रदीप गिरिले 'कांग्रेसको सुखमा दुःखी हुने र कांग्रेसको दुःखमा सुख मान्ने कांग्रसीका कारण नै पार्टीलाई क्षति पुगेको' बताएका छन्। पार्टीको सबैभन्दा ठूलो समस्या अन्तर्घात भएको उनले औंल्याए। उनले भने, ‘शब्दकोषमा कांग्रेसले थपेको विशेष शब्द अन्तर्घात हो।’
पार्टी नेतृत्व आत्मकेन्द्रित भएको भन्दै शीर्ष नेताहरुको उनले आलोचना गरे। नेता गिरिले पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल व्यक्तिगत स्वार्थमा मात्रै केन्द्रित भएकाे भन्दै आपत्ति जनाए। 'पार्टीको जिम्मेवारीबाट हटेपछि नेताद्धयलाई त्यसपछि के गर्ने डरले सताइरहेको छ', उनले भने, ‘म भन्छु- देउवाजी अब छोड्नुस्,उहाँ भन्नुहुन्छ– छोडेपछि मैले के गर्ने?’
समाजमा विभिन्न पेसा र आस्थाका व्यक्तिहरु भएको बताउँदै गिरिले विभिन्न पक्षका आवाजहरु सुनेर कांग्रेसले आफ्नो नीतिमा परिमार्जन ल्याउनुपर्नेमा जाेड दिए। उनले भने, ‘नेपाली कांग्रेसको तथाकथित सिद्धान्तलाई परिमार्जित गर्नुपर्छ।’ जनताका दुःखमा एकाकार नभई जागरण अभियानले सार्थकता नपाउने उनको धारणा थियो।
जागरण अभियानका क्रममा काठमाडाैंमा झापा क्षेत्र नम्बर १ ले गरेको कार्यक्रममा बोल्दै नेता गिरिले वर्तमान सरकारले आफ्नो चाहनालाई जनताको चाहना भनी परिभाषित गरेको भन्दै असहमति प्रकट गरे।कम्युनिष्टहरु सच्चा समाजवादी बन्नै नसक्ने उनकाे दाबी छ। अरुप्रति संवेदना नभएको विचारले समाजवादको वकालत गर्न नसक्ने उनले दाबी गरे।
(तस्बिर : प्रदीप गिरिकाे फेसबुक पेज)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।