काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट खेल्नका लागि १ सय ७ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले डब्लुसिएल खेल्न इच्छुक खेलाडीका लागि गत साता आवेदन खुलाएको थियो।
खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ। डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीलाई राखिएको छ। यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायर श्रेणीमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी समावेश थिए। यस्तै वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडी छन्। प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई/दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ।
दर्ता खेलाडीलाई डब्लुसिएलमा सहभागी विभिन्न पाँच टिमले ड्राफ्ट विधिमार्फत टिममा आवद्ध गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिता आगामी असोज ३ देखि ११ सम्म हुँदैछ। यसअघि प्रतियोगिताका लागि पाँच शहरका पाँच टिम, मार्की खेलाडी र टिम मालिक सार्वजनिक गरिएको थियो।
प्रतियोगिताका पाँच सहरका पाँच टिम र मार्की खेलाडी
१. चितवन राइनोज – मिंग्मा डण्डु शेर्पा (स्वामित्व), इन्दु बर्मा (मार्की खेलाडी)
२. क्यापिटल्स रोयल्स काठमाडौं – दीपा अग्रवाल (स्वामित्व), रुबिना क्षेत्री (मार्की खेलाडी)
३. पोखरा पल्टन – बिनायक पोखरेल (स्वामित्व), सीता रानामगर (मार्की खेलाडी)
४. ललितपुर फाल्कोन्स – श्रीजना जोशी (स्वामित्व), नेरी थापा (मार्की खेलाडी)
५. विराटनगर टाइटन्स – पारस लुनिया (स्वामित्व), सरिता मगर (मार्की खेलाडी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।