गाइघाट- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
प्रेस युनियन उदयपुरले आज बिहान गाईघाटस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा राखेका हुन्।
पार्टीको जागरण अभियानअन्तर्गत उदयपुर आइपुगेका नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको स्मरण गरे। ती काण्डमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारबाही गर्न तयार रहेको प्रष्ट पारे।
उनले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचेजस्तो फल नपाएकाे धारणा राखे। नेता पौडेलले अहिले सत्ता पक्ष र विपक्षीबीच वाक युद्ध चलिरहेको र यस्तो वाक युद्धले प्रजातन्त्र र सङ्घीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुबैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाव दिए।
उनले कांग्रेस पार्टी लामो इतिहास बोकेको पार्टी भएको कारण पार्टीभित्र सानातिना झिनामसिना कुराले कुनै असर नपार्ने जिकिर गरे। वर्तमान सरकारले अब भाषणमा भन्दा बढी कृषि क्रान्ति र पर्यटन विकासमा लाग्न सके नेपालले छिटो विकासमा फड्को मार्ने सुझाव नेता पौडेलले सरकारलाई दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।