काठमाडौं- समाजवादी पार्टी, नेपालले देशका ८ सहरमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपन्द्र यादवले सम्बोधन गर्ने गरी कार्यक्रम गर्ने निर्णय गरेको छ।
पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको सो दलले जानकारी दिएको छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहिबार बसेको पहिलो पदाधिकारी बैठकले अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आठै सहरमा संयुक्त सम्बोधन गर्ने गरी कार्यक्रम तय गरेको केन्द्रीय सचिव प्रकाश अधिकारीले जानकारी दिए।
बैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नवगठित समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनहरुलाई एकताको लागि अपिल समेत गरेको छ।
यसका साथै दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन ५ दिन भित्र समायोजन निर्देशिक तयार गर्न समिति गठन गरेको छ।
पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीय स्तरबाट पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम जेष्ठ ११ गते पूर्वको विराटनगरबाट शुभारम्भ भएर पश्चिमको धनगढी हुँदै जेष्ठ २५ गते पोखरामा समापन हुनेछ।
कार्यक्रम तालिका अनुसार आगामी जेष्ठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते विरगंज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गरी कार्यक्रम सम्पन्न हुने तय भएको छ।
कार्यक्रममा नगरपालिका एवं गाउपालिकाका अध्यक्षहरु, प्रदेश समितिका पदाधिकारीहरु, प्रदेशस्थित भ्रातृ संगठनका पदाधिकारी, जिल्ला समन्वय समितिका संयोजक एवं इन्चार्ज तथा पार्टी केन्द्रीय समस्यहरुको सहभागिता रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।