इलाम- चिया उत्पादन हुने याम सकिँदै गएपछि अर्गानिक चिया विदेशमा मागअनुसार पुर्याउन नसकिएको चिया व्यवसायीले बताएका छन्।
इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्बिरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अर्गानिक चियाको मागअनुसार पुर्याउन नसकिएको बताए। चियाको याम सकिएर कारखानामा दैनिक ५ सय किलो मात्र हरियोपत्ती आउने गरेको उनको भनाइ छ। कारखानाले २५ प्रकारका चिया उत्पादन गर्दै आएको छ। कारखानामा उलन, ह्वाइट र ब्ल्याक चिया धेरै उत्पादन गरिँदै आएको छ। कारखानाले उत्पादन गरेको चिया चीन र युरोपियन मुलुकमा जाने गरेको छ। कारखानामा दैनिक एक हजार किलोग्रामसम्म तयारी चियाको माग आइरहे पनि पुर्याउन नसकिएको हो।
बाह्य मुलुकको मागअनुसार पुर्याउन नसक्दा स्थानीयस्तरमा समेत बिक्रीका लागि व्यवसायीले पाउन सकेका छैनन्। कारखानाले यतिबेला मागअनुसार मात्र चिया उत्पादन गर्ने गरेको सुब्बाको भनाइ छ। कारखानामा उत्पादन भएको चिया प्रतिकिलो रु ८ सयदेखि १५ हजार सम्ममा बिक्री हुँदै आएको छ। कारखानाले आफ्नै ५० रोपनी जमिन र भाडामा एक सय रोपनी गरी डेढ सय रोपनीमा चिया खेती गरेको छ। कारखानामा ६ जना पुरुष कामदारसहित २० जनाले रोजगारी पाएका छन्।
कारखानाले अहिले उन्नति समावेशी परियोजनाको सहयोगबाट चिया प्रशोधन गर्ने नयाँ मेसिन खरिद गरी एउटा नयाँ कारखाना भवन निर्माण सम्पन्न गरेको छ। मंसिर पहिलो हप्तामा उन्नतिकै सहयोगमा किसानलाई अग्र्यानिक चिया उत्पादनसम्बन्धी तालीम दिइएको छ। सो कारखानाले उन्नतिबाट रु एक करोड २८ लाख सहयोग प्राप्त गरेको सञ्चालक सुब्बाले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।