काठमाडौं– शिक्षा मन्त्रालयले आफ्नो अधिकार क्षेत्रबाहिर गई काठमाडौं नेसनल मेडिकल कलेजको शिक्षण अस्पताललाई सञ्चालन स्वीकृति दिएको खुलासा भएको छ। अस्पताल सञ्चालनको स्वीकृति प्रदान गर्ने अधिकार स्वास्थ्य मन्त्रालयलाई भए पनि शिक्षा मन्त्रालयले अधिकार क्षेत्र नाघेर स्वीकृति दिएको तथ्य फेला परेको हो।
स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्ति मापदण्ड’ अनुसार २ सय शय्याभन्दा माथिका अस्पताल स्वास्थ्य मन्त्रालय, ५१ देखि २ सयसम्म स्वास्थ्य सेवा विभाग, २६ देखि ५० सम्म क्षेत्रीय स्वास्थ्य कार्यालय र २५ शय्यासम्मका अस्पतालले जिल्ला स्वास्थ्य कार्यालयबाट अनिवार्य रुपमा सञ्चालन स्वीकृति लिनुपर्ने हुन्छ।
शिक्षा मन्त्रालयका हालका प्रवक्ता डा हरि लम्साल स्वयम् शिक्षा मन्त्रालयसँग अस्पताल सञ्चालनको स्वीकृति दिने अधिकार नभएको स्विकार गर्छन्। ‘मेरो जानकारीमा भए अनुसार अहिलेसम्म अस्पताल सञ्चालनको स्वीकृति दिने अधिकार स्वास्थ्य मन्त्रालयलाई मात्र छ,’ उनले भने, ‘शिक्षा मन्त्रालयले मेडिकल कलेजका हकमा मनासय पत्र दिने काम गर्छ। अहिलेसम्म शिक्षा मन्त्रालयले अस्पताललाई स्वीकृति दिने काम गरेको छ भन्ने कुरा मेरो जानकारीमा छैन।’ उनले काठमाडौं नेसनलका विषयमा के भएको हो भन्ने बारे जानकारी लिने बताए।
शिक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर ०६९ साल साउन ७ गते काठमाडौं नेसनललाई ३ सय शय्याको अस्पताल सञ्चालन गर्न स्वीकृति प्रदान गरेको फेला परेको हो। शिक्षा मन्त्रालयले ०६९ साउन ८ गते सचिवस्तरीय निर्णयअनुसार काठमाडौं नेसनललाई अस्पताल सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको पत्र दिएको छ। उक्त पत्रको बोधार्थ स्वास्थ्य मन्त्रालयलाई समेत पठाइएको छ।
‘एमबिबिएस कार्यक्रम सञ्चालनका लागि ३ सय बेडको पूर्ण उपकरण सहितको अस्पताल सञ्चालनमा ल्याएको हुनुपर्ने, विश्वविद्यालयबाट महाविद्यालय सञ्चालन गर्न सम्बन्धन लिई सक्नुपर्ने र सम्बन्धित काउन्सिलबाट प्रारम्भिक मान्यता लिइसक्नुपर्ने व्यवस्था अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको मापदण्ड अनुसारको शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको व्यहोरा मिति २०६९/०४/०७ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ,’ काठमाडौं नेसनललाई शिक्षा मन्त्रालयले लेखेको पत्रमा भनिएको छ।
काठमाडौं नेसनललाई अस्पताल सञ्चालको स्वीकृति प्रदान गरिएको पत्रमा शिक्षा मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा शाखाका तत्कालीन उपसचिव लक्ष्मण खनालको हस्ताक्षर छ। खनाल हाल अवकासप्राप्त भइसकेका छन्। अवकास पाएपछि खनालले केही समय काठमाडौं नेसनलको निर्देशकका रुपमा काम गरेका थिए।
स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले स्वास्थ्यको स्वीकृति नलिई कुनै पनि अस्पताल सञ्चालन गर्न नपाइने बताए। उनले काठमाडौं नेसनलका विषयमा प्रश्न उठेपछि मन्त्रालयले ८ सदस्यीय अनुगमन कार्यदल बनाएको जानकारी दिए। ‘यो विषयमा अनुगमन गर्न कार्यदल बनेको छ,’ उनले भने, ‘कार्यदलले सात दिनमा प्रतिवेदन बुझाएपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढ्छ।’
काठमाडौं नेसनलले सुरुमा स्वास्थ्य मन्त्रालयमा ०६८ साउन १६ गते अस्पताल सञ्चालन स्वीकृतिका लागि निवेदन हालेको थियो। उक्त निवेदन पाएको भोलिपल्ट नै स्वास्थ्यले ३ सय शय्या अस्पताल सञ्चालनका लागि मापदण्ड नपुगेको भन्दै प्रक्रिया अगाडि बढाउन रोकेको थियो। ‘३ सय शय्याको शिक्षण अस्पतालको मापदण्ड नभएकाले कारबाही अघि बढाउन नमिल्ने’ स्वास्थ्यले त्यतिबेला नेसनललाई पठाएको पत्रमा भनिएको छ। पत्र अनुसार नेसनलले ३ सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस, स्थानीय तहको सिफारिस, भवन भूकम्प प्रतिरोधात्मक रहेको र भवन आचारसंहिता अनुसार बनाइएको प्रमाण, वातावरणीय प्रभाव मूल्यांकनको पत्र समेत बुझाएको थिएन।
स्वास्थ्यले स्वीकृति नदिएपछि काठमाडौं नेसनल, शिक्षा मन्त्रालयबाट अस्पताल सञ्चालनको स्वीकृति प्रदान गरिएको पत्र लिन सफल भएको हो। त्यसपछि काठमाडौं नेसनलले घट्टेकुलोमा अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पताल सञ्चालनमा ल्याएपछि काठमाडौं नेसनलले मेडिकल कलेजको सम्बन्धन पाउनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल लगायतका संस्थामा निवेदन दिएको हो।
तर, डा गोविन्द केसीको अनशनका क्रममा सरकारले उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने सहमती गरेपछि काठमाडौं नेसनलको सम्बन्धन प्रक्रिया रोकिएको थियो।
तर, त्रिवि कार्यकारी परिषद्बाट हालै सम्बन्धन लिएसँगै काठमाडौं नेसनलले गत साउन १५ मा अस्पताल सञ्चालनको स्वीकृतिका लागि पुनः स्वास्थ्य मन्त्रालयलाई निवेदन दिएको छ। स्वास्थ्य मन्त्रालयले ०७३ सालमा ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड’ संशोधन गरी थप कडाइ गरेपछि काठमाडौं नेसनल पुनः स्वास्थ्य मन्त्रालयमा अस्पतालको स्वीकृतिका लागि पुगेको हो।
काठमाडौं नेसनलले उक्त निवेदनमा ‘शिक्षा मन्त्रालयबाट स्वीकृत शिक्षण अस्पताल दर्ता गरी पाऊँ’ भनेर निवेदन दिएको छ। तर, पछिल्लो पटक दिएको निवेदनमा पनि काठमाडौं नेसनलले ३ सय शय्या अस्पताल सञ्चालनका लागि भूकम्प प्रतिरोधी भवनको प्रमणपत्र, वातवरणीय प्रभाव मूल्यांकनको पत्र, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको सिफारिस पत्र लगायतका आवश्यक कागजपत्र बुझाएको छैन।
चिकित्सा शिक्षा महाशाखा प्रमुख डा श्रेष्ठले अहिले आएको कागजपत्र र निवेदनका आधारमा काठमाडौं नेसनललाई अस्पताल सञ्चालनको स्वीकृति दिन सक्ने अवस्था नभएको जानकारी दिए।
हेरौँ पत्र
शिक्षा मन्त्रालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई शिक्षण अस्पताल सञ्चालनका लागि दिएको स्वीकृति पत्र
काठमाडौं नेसनलले शिक्षा मन्त्रालयले अस्पताल सञ्चालनका लागि स्वीकृति दिएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयमा दिएको निवेदन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।