काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि सुरु भएको जागरण अभियान मोरङ र इलाममा पहिलो दिन हुन सकेन।
७७ जिल्लामा मोरङ र इलाम बिहीबारबाट सुरु भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी गराए। केन्द्रीय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा शर्माले भने, ‘स्थानीय व्यावहारिकताका कारण अभियान एकदिन ढिलो गरी विहिबारबाट प्रारम्भ भएको छ।’
कार्यक्रमको प्रारुप नयाँ भएकाले कार्यान्वयनका क्रममा कतिपय जिल्लाले सुरुवाती अप्ठ्यारो अनुभूत भएको पार्टीको निष्कर्ष छ।
पार्टीले स्वागत र समापनमा दुई वक्तासहित प्रमुख वक्ता गरी तीन जना मात्रै वक्ता हुनेगरी कार्यक्रम प्रारुप तयार गरेको थियो। पार्टीले तय गरेको प्रारुपले महिला वक्ताको सहभागिता न्यून हुने भन्दै महिला महासमिति सदस्यले विराध जनाएसँगै महिला वक्ता अनिवार्य गर्ने प्रारुप बनाइएको थियो।
उद्धघाटन सत्रको कार्यक्रमसँगै जागरण अभियानले ‘पार्टीलाई नवीन सन्दर्भमा नवीन ढंगले सुदृढ गर्दै, वर्तमान सरकार बने यताका समग्र बेथिति उपर खरो प्रहार गरेर अघि बढ्न’ सहयोग पुर्याएको शर्माले दाबी गरे।
७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदा आवश्यक ध्यान नपुर्याइएको भन्दै केही सदस्यले पार्टी नेतृत्वको आलोचना गरेका छन्।
वर्तमान सरकारको एकोहोरो आलोचना गर्ने कांग्रेस नेताहरूले पार्टीको नीति तथा सिद्धान्तमा भने कुनै विषय नउठाएको भन्दै एक नेताले असन्तुष्टि पोखे।
उनले भने,‘केन्द्रीय प्रतिनिधि खटाउँदा कुनै विधि पनि तय गरिएन। पार्टीको नीति सिद्धान्त प्रष्टाउन नसक्ने नेता खटिएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।