काठमाडौं- तत्कालीन नयाँ शक्ति पार्टीका संयाेजक डा बाबुराम भट्टराईकाे संघीय समाजवादी फोरमसँग एकता गर्ने निर्णयमा केही नेताहरु असन्तुष्ट बनेका छन्। उपेन्द्र यादव नेतृत्वकाे संघीय समाजवादी फाेरमसँग एकता गरी नयाँ पार्टी 'समाजवादी पार्टी, नेपाल' बनाएकाेमा नयाँ शक्तिका केही नेताहरु असन्तुष्ट बनेका हुन्।
फाेरममा विलय हुनुअघि नयाँ शक्तिका केन्द्रीय सदस्य रहेका नेता नारायण तिवारीका अनुसार पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, राम बहादुर बोहोरालगायत नेताहरु नेतृत्वकाे कदमप्रति असन्तुष्ट छन्। पार्टीभित्र छलफल नै नगरी एकलाेटी रुपमा पार्टी एकताकाे निर्णय लिएकाे भन्दै उनीहरुले भट्टराईकाे कदममा फरक मत राखकाे बताइएकाे छ।
असन्तुष्ट समूहले आज बिहान ११ बजे यसै सन्दर्भमा रहेर डा भट्टराईलाई ज्ञापनपत्र बुझाउने भएकाे छ। ललितपुरस्थित तत्कालीन नयाँ शक्तिका नेता मदन राईको घरमा बुधबार बैठक बसी असन्तुष्ट पक्ष ज्ञापनपत्र बुझाउने निष्कर्षमा पुगेकाे थियाे। नेता तिवारीका अनुसार अबकाे बाटाे कस्ताे हुने भन्ने सम्बन्धमा समेत छलफल भएकाे थियाे।
नयाँ शक्ति र फाेरमबीच गएकाे साेमबार मात्रै औपचारिक रुपमा एकता भई नयाँ पार्टी घाेषणा भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।