आम्स्टर्डम- इंग्लिस टोटनह्याम युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनलको दोस्रो लेगमा डच क्लब अयाक्सलाई ३-२ ले हराउँदै टोटनह्याम उपाधि नजिक पुगेको हो।
टोटनह्यामको मैदानमा भएको पहिलो लेगमा अयाक्सले १-० को जित हात पारेको थियो। त्यसैले खेल समग्रमा ३-३को बराबरी रहे पनि टोटनह्यामले अवे गोलको फाइदा लियो।
बुधबार टोटनह्यामले उत्कृष्ट पुनरागमन गरेको थियो। पहिलो हाफमा अयाक्सले २ गोल गरेको थियो। अयाक्सका लागि डे लाइटले पाँचौ र जियिचले ३५ मिनेटमा गोल गरेका थिए।
तर दोस्रो हाफमा टोटनह्यामले ३ गोल गर्यो। जसमा लुकास माउराले ह्याट्रिक गरे। उनले ५५ मिनेटमा पहिलो गोल गर्दा ५९ मिनेटमा बराबरी गोल फर्काए। इन्जुरी टाइमको छैटौं मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक गरेपछि टोटनह्यामले सनसनीपूर्ण जित हात पार्यो।
अब उपाधिका लागि टोटनह्यामले अर्को इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ। लिभरपुलले मंगलबार बार्सिलोनालाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।