डडेल्धुरा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व–भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वाभिमानलाई गुमाएको आरोप लगाएका छन्।
पार्टीको जागरण अभियानअन्तर्गत बुधबार डडेल्धुरा सदरमुकाम बसपार्कमा आयोजित आमसभामा उनले प्रश्न गरे, 'प्रधानमन्त्री एउटा धर्मको आमन्त्रणमा सरकारी निवास छोडेर होटलमा बास बस्ने? होली वाइन खाने?'
राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई प्रधानमन्त्रीले गुमाएको उनले दाबी गरे।
कांग्रेसले गरेका कामलाई समेत ओली सरकारले आफैंले गरेको भन्दै प्रचार गरिरहेमा गुनासो पोखे। कम्युनिस्ट सरकार निर्माण भएपछि भ्रष्टाचार, महंगी, कालोबजारीलगायतका बेथिति मौलाएको उनले आरोप लगाए।
मन्त्री बलायरले कांग्रेस बिनाको नेपालको परिकल्पना समेत गर्न नसकिने दाबी गरे।
कम्युनिस्टहरूले राष्ट्रियता जोगाउन नसक्ने उनको भनाइ थियो।
कम्युनिस्टहरूको राष्ट्रियता नै नहुने उल्लेख गर्दै उनले भने, ‘कम्युनिस्टहरूले राष्ट्रियताको खोलमात्रै ओढेका छन्। उनीहरू एक आपसमै मिल्न नसकेकाले देश मिलाउँछु भन्नु सपनामात्रै हो।'
कम्युनिस्टले भ्रमको खेती गर्ने पूर्वमन्त्री बलायरको आरोप थियो। कम्युनिस्ट प्रधानमन्त्रीहरूले देशलाई लुटेर खाएको आराप लगाउँदै नेता बलायरले कांग्रेस नेतृत्वको सरकारले १८ महिनामै जनतालाई संविधान दिएको दाबी गरे।
विगतमा कांग्रेसले कुनै ठाउँमा बाटो बिराएकाले अब कांग्रेसले सही बाटोमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
स्थानीय तहमा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै उनले कहाँ कसले भ्रष्टाचार गर्दैछ त्यसको लेखाजोखा राख्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए।
उनले कांग्रेसले जितेका स्थानीय तहहरूमा पनि भ्रष्टाचार नगर्न समेत सुझाव दिए। साथै उनले कांग्रेसले जितेका ठाउँमा यदि भ्रष्टाचार गरेको पाइए कारबाही गरिने समेत चेतावनी दिए।
नेता बलायरले सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासन आउँदा रुन पनि पाइन्न भनेको पुष्टि हुँदै गएको दाबी गरे। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाकाप्रति लक्षित गर्दै उनले द्वन्द्वले मुलुक बन्न नसक्ने बताए। ‘‘विप्लव’ नेतृत्वको नेपाकाले पनि मुलधारको राजनीतिमा आउनुपर्छ,’ उनले भने।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता नलाग्नुमा समेत सरकार नै दोषी भएको उनले बताए। सरकार नै बलात्कारीलाई कारबाही गर्नुको सट्टा जोगाउन खोजिरहेको उनले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।