काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने काममा सहयोग गर्न अपिल गरेका छन्।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिए।
मानव अधिकारवादी नेता पदमरत्न तुलाधरको जीवनीमा आधारित पुस्तक ‘सर्वरत्न’को बुधबार काठमाडौंका एक कार्यक्रमबीच विमोचन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय ढंगले शान्ति प्रक्रियालाई पूरा गरेको सन्देश दिने अवसर गुमाउन नहुने पनि स्पष्ट पारे।
अध्यक्ष दाहालले अन्तराष्ट्रिय मानव अधिकारसम्बन्धी मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रिया अन्तरगत सेना समायोजनलगायतका महत्वपूर्ण काम सम्पन्न भइसकेको उल्लेख गरेका थिए। उनले बाँकी कामलाई पूर्णता दिन ढिलाई गर्न नहुने पनि बताए।
आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पुर्याउनु भएको योगदानको स्मरण गरे।
'स्वर्गीय तुलाधरले नेपालको भाषा आन्दोलन, पहिचानको आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो,' अध्यक्ष दाहालले भने।
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले पनि स्वर्गीय पदमरत्न तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा गरेको योगदानको स्मरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।