डडेल्धुरा- महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बरबहादुर पालको शव भेटिएको छ। महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको बुधबार शव फेला परेको हो।
परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटरमाथि कल्पटेखानको पारि भारतीय क्षेत्रस्थित महाकाली किनारमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। यहाँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
पालका आफन्तलाई शवको तस्बिर पठाउँदा शव उनकै भएको पुष्टि भएको प्रहरी निरीक्षक पाण्डेयले बताए। भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर शव नदीबाट निकालिएको छ।
शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा उनी बेपत्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।