काठमाडौँ- नेपाल संयुक्त राष्ट्रसंघको लागुऔषध नियन्त्रण सम्बन्धी आयोगको सदस्यमा निर्वाचित भएको छ।
आयोगको सदस्यका लागि न्यूर्योकस्थित राष्ट्रसंघ मुख्यालयमा मगंलबार अपराह्न निर्वाचन भएको थियो।
नेपाल एसिया प्रशान्त क्षेत्रबाट सन् २०२० देखि सन् २०२३ सम्मका लागि निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रसंघीय आर्थिक तथा समाजिक परिषद् र लागुऔषध सम्बन्धी नीति निर्माणका लागि केन्द्रीय भूमिका रहने आयोगमा नेपाल पहिलो पटक निर्वाचित भएको हो।
आयोगमा नेपालसहित विभिन्न विभिन्न महाद्वीपका ३३ देशसमेत निर्वाचित भएका छन्। ५४ वैध मतमध्ये नेपालले ४४ मत पाएको थियो।
एशिया प्रशान्त क्षेत्रबाट बहराइन, चीन, जापान, काजाकस्तान, पाकिस्तान, ताइल्याण्ड र तुर्कीमिनिस्तानसमेत निर्वाचित भएका छन्।
लागुऔषध बेचविखन र त्यससम्बन्धी अपराधविरुद्धको लडाइँलाई नेपालले महत्व दिएको छ।
नेपालले सन् २००३ मा लागुऔषध सन्धि १९६१ मा हस्ताक्षर र सन् २०११ मा अनुमोदन गरेको थियो। उक्त सन्धिका अहिले १८६ राष्ट्र सदस्य छन्।
‘यो अझै नेपालले अवैध लागु औषध विरुद्धको लडाईमा अन्तर्राष्ट्रिय समुदायसँग नजिक रहेर काम गर्ने अवसर हो,’ परराष्ट्र मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आयोग राष्ट्रसंघीय अन्तर्राष्ट्रिय लागु औषध नियन्त्रण सन्धि निगरानीका लागि आर्थिक तथा समाजिक परिषद्लाई सहयोग गर्न गरिएको थियो।
आयोगको कार्यदेशलाई बढाएर गरेर संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालयका लागि नियामक नियकायको रुपमा विकास गरिएको थियो।
उक्त कार्यालय अष्ट्रियाको भियनामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।