काठमाडौं- बुधबार संघीय संसदको अर्थ समितिमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी समायोजन र व्यवस्थापन मुलुकको आर्थिक समृद्धिको सबैभन्दा ठूलो बाधकका रुपमा देखिएको धारणा राखे। पाण्डेको उक्त धारण उनकै संयोजकत्वमा गठन भएको एक अध्ययन उपसमितिको निष्कर्ष थियो।
अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने प्राथमिकताका विषय, स्थानिय निकाय र प्रदेशमै पुगेर उनीहरुको आवश्यकता तथा वास्तविक समस्या बुझ्न भन्दै दुई उपसमिति गठन गरेको थियो। दुई जना पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सुरेन्द्र पाण्डे संयोजक रहेका उपसमितिमा ५–५ जना सांसद थिए भने उनीहरुले सबै प्रदेशका मुख्य १० सहरमा पुगेर सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा कर्मचारीसँग छलफल गरेर प्रारम्भिक प्रतिवेदनसमेत तयार पारेर समितिलाई बुझाइसकेका छन्।
विभिन्न १६ बुँदासहितको सुझाव दिएर प्रतिवेदन तयार पारिएको छ। उपसमितिले अर्थसमिति र अर्थसमितिले सरकारलाई निर्देशन गरेको उक्त अध्ययन प्रतिवेदनमा सबैभन्दा महत्वपूर्ण सुझावका रुपमा सार्वजनिक खरीद ऐनको संशोधनलाई लिइएको छ भने कर्मचारीको समायोजन तथा व्यवस्थापनलाई दोश्रो महत्वपूर्ण विषयका रुपमा उठान गरिएको छ।
अध्ययन उपसमितिका संयोजक पाण्डे कर्मचारी व्यवस्थापन हुन नसक्दा विकासका काम प्रभावित भएको र आर्थिक गतिविधि धिमा भएकोमा सबै प्रदेश र स्थानियको गुनासो रहेको बताउँछन्।
‘सबै तहमा समयमा कर्मचारी व्यवस्थापन हुन नसक्नु तथा चाँडै सरुवा–बढुवा भइरहनु जस्ता कारणले विकासका कामले गति लिन सकेका छैनन्। यो कुनै एक प्रदेश र स्थानीय तहको समस्या नभई मुलुकभर कै समस्या हो,’ पाण्डेले भने।
अधिकांश गाउँपालिका तथा नगरपालिकाहरुमा कार्यालय प्रमुख नहुँदा काम गर्न समस्या भइरहेको आफ्नो अध्ययनले देखाएको पाण्डेले बताए।
‘हामीले अध्ययनका क्रममा के पायौं भने अधिकांश कार्यालयमा प्रमुख कार्यालय मै जाँदैनन्। उहीहरु सरुवा-बढुवामै अल्झिरहेका छन्। आज एक ठाउँ भोलि अर्कै ठाउँ। अनि निमित्तले कलम नै चलाउँदैनन्। यस्तो अवस्थामा तीनै तहका सरकारले कार्यालय प्रमुखलाई एक दिनको बिदा हुँदा पनि त्यसको सट्टामा अर्को कर्मचारीले काम गर्न सक्ने वातावारण बनाउन सकेको छैन,’ कर्मचारी व्यवस्थापनमा देखिएको समस्याका विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।