काठमाडौं– भारतीय महिला लिगमा नेपालकी मिडफिल्डर अनिता बस्नेतले डेब्यू गरेकी छिन्। अनिताले बुधबार सेथु एएफसीबाट बैंग्लोर युनाइटेड एफसीविरुद्ध सब्सिच्युट खेलाडीको रुपमा डेब्यू गरेका हुन्।
दोस्रो हाफमा मैदान छिरेकी अनिताले खेलको ७० मिनेटमा गोल गर्दै यादगार डेब्यू गरेका हुन्। खेलमा सेथुले बैंग्लोरलाई ३–० ले हरायो। सेथुका लागि नेपालकी अर्की स्ट्राइकर सावित्रा भण्डारीले ११ मिनेटमा पहिलो गोल गरेकी थिइन्। पहिलो हाफमा सान्ध्याले सेथुको अग्रता दोब्बर पारेकी थिइन्।
लगातार दोस्रो जितसँगै सेथु समूह बीमा शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि सेथुले मनिपुर पुलिस स्पोर्टस क्लबलाई ६–४ ले हराएको थियो। सो खेलमा नेपालकी स्ट्राइकर सावित्राले डेब्यू गरेकी थिइन् भने ४ गोल गरेकी थिइन्। सावित्राले मनिपुर पुलिस एससीविरुद्ध पहिलो हाफमै चार गोल गरेकी थिइन्। सो खेलमा अनिताले भने मौका पाएकी थिइनन्।
हिरो भारतीय महिला लिग खेल्नका लागि सावित्रा र अनिता गत महिना सेथुमा आबद्ध भएका थिए। तामिल नाडुको यो क्लब गत सिजनमा सेमिफाइनलसम्म पुगेको थियो। सिजनमा क्लबले नेपालका दुई खेलाडीसँगै भारतीय राष्ट्रिय टिमका खेलाडी भित्र्याएको छ। जसमा ग्रेस, रतनबाल देवी, असलता देवी, सन्ध्या र इन्दुमती छन्।
लिगमा दुई समूहमा प्रतिस्पर्धा हुँदैछ। सावित्रा र अनिता आबद्ध सेथु समूह बीमा छ। जहाँ सेथुसहित बैंग्लोर युनाइटेड, बरोडा एफसी, सीआरपीएफ एफसी, कोल्हापुर, मनिपुर पुलिस र कुटाक छन्।
लिगका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल मे २२ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।