पाँचथर- पाँचथरको कुम्याक गाउँपालिका-२, सुब्बाटोलस्थित गैरी भन्ने स्थानमा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
राति पौने ९ बजे सुब्बाटोलबाट सल्लाको गोलिया काठ बोकेर चौथी बजारतर्फ आउँदै गरेको लु४त ६२४ नम्बरको ट्याक्टर उकालो बाटोमा अनियन्त्रित भई सडकबाट अन्दाजी ३० फिट तल खसेको थियो।
दुर्घटनामा चालक पाँचथर याङवरक गाउँपालिका-३, ओयाम बस्ने वर्ष २१ का सन्तोष राई, सह-चालक फिदिम नगरपालिका-९ लुम्फावुङ बस्ने वर्ष २० का धिरेन राई र सोही ट्याक्टरमा मजदुरी गर्ने फालेलुङ गाउँपालिका-५, प्राङबुङ बस्ने वर्ष २० का रोशन थाम्सुहाङ घाइते भएका थिए।
घटनास्थलमा प्रहरी चौकी माङ्जाबुङबाट प्रहरी टोली खटिएर तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल, पाँचथर पठाइएकोमा गम्भीर घाइते थाम्सुहाङको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। दुर्घटनामा घाइते भएका चालक र सह-चालकको सोही अस्पतालामा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।