फाइल तस्बिर
काठमाडौं- कोटेश्वर–कलङ्की सडकअन्तर्गत बालकुमारी, ग्वार्खाे, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम सुरु भएको छ।
गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत सुरु भएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ। मर्मत अवधि एक वर्षको हुने योजनाका सूचना अधिकारी इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। उनका अनुसार यी तीन स्थानमा कालोपत्र पग्लने, उप्कनेलगायतका समस्या देखिएकाले मर्मतको काम थालिएकाे हो।
उनले भने, 'सडकमा सबैभन्दा माथिल्लो तहको कालोपत्र उप्काएर काम भइरहेको छ।'
सडक, पुललगायतका संरचनामा कुनै पनि खालको समस्या आउँदा एक वर्षसम्म त्यसको मर्मतको जिम्मेवारी ठेकेदार कम्पनीको नै हुने इञ्जिनियर शर्माले बताए। उनका अनुसार चिनियाँ निर्माण समूह सङ्घाई निर्माण सेवा समूहले पनि यहाँको सडकमा अहिले निरीक्षणको काम गरिरहेको छ। 'कुनै पनि खालको समस्या आउँदा उनीहरुले तुरुन्त काम गरिहाल्छन्', शर्माकाे भनाइ छ।
चक्रपथको पहिलो चरण कोटेश्वर–कलङ्की सम्पन्न भएसँगै चीन सरकारले दोस्रो खण्ड (कलङ्कीदेखि महाराजगञ्ज) को पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।