काठमाडौं- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरेको छ।
गए राति चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३१ रन मात्र जोड्न सक्यो। चेन्नईका लागि अम्बाती रायदुले सबैभन्दा बढी नटआउट ४२ रन जोडे।
कप्तान महेन्द्रसिंह धोनीले नटआउट ३७ रन बटुले। त्यसअघि ओपनिङमा आएका फाप डु प्लेसिस ६ रन, सेन वाटसन १० रन, सुरेश रैना ५ रन र मुरली विजय २६ रनमा आउट भएका थिए। बलिङमा मुम्बईका राहुल चाहरले २ विकेट लिए।
१ सय ३२ रनको झिनो लक्ष्य मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। मुम्बईका लागि सूर्यकुमार यादवले नटआउट ७१ रन जोडे। उनले ५४ बलमा १० चौका हिर्काए। इशान किसनले २८ रनको योगदान दिए। त्यसअघि कप्तान रोहित शर्मा ४ रन, क्वान्टन डेक कक ८ रन र क्रुनाल पाण्ड्या ० मा आउट भए। हार्दिक पाण्ड्याले नटआउट १३ रन बटुले। बलिङमा चेन्नईका इमरान ताहिरले २ विकेट लिए।
अब चेन्नईले फाइनल प्रवेशका लागि आज हुने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।