काठमाडौं– ३८ सय किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्तको आरोप लागेका भुजुङ गुरुङ, दोदाराम खत्री र वीरेन्द्रमान श्रेष्ठ सर्वोच्च अदालत आएका छन्। मोरङ जिल्ला अदालत र विराटनगर उच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनीहरु सर्वोच्च आएका हुन्।
गुरुङसहित तीन जनाले बैसाख १९ गते दुवै अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आफूलाई साधारण तारेखमा रिहा गर्न माग गर्दै निवेदन दर्ता गरेका थिए।
सर्वोच्चमा ३८ सय किलो सुन तस्करी प्रकरणमा जिल्ला र उच्च अदालतको आदेश चित्त नबुझेका २८ प्रतिवादीको मुद्दाको सर्वोच्चमा विचाराधीन छ। त्यसमध्ये न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशमा तीन थान मुद्दा आज पेशीमा रहेको छ।
२५ प्रतिवादीको मुद्दामा यसअघि नै सर्वोच्चले पहिलो सुनुवाइ गर्दै फाइल मगाउने आदेश गरिसकेको छ।
पाँच महिनादेखि पुर्पक्षका लागि धरौटीमा छोड्ने कि थुनामा राख्ने विषयमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरविरुद्ध दायर भएको मुद्दा न्यायाधीशहरुले हेर्न मानिरहेका छैनन्। थुनछेक आदेश गरेकै आधारमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसहित अन्य ६ न्यायाधीश छानबिनमा तानिएपछि मुद्दाको पेशी सर्दै आएको छ।
२०७५ कात्तिक १२ देखि चैत २४ गतेसम्म दर्ता भएका मुद्दा सुनुवाइको पेशीमा रहे पनि न्यायाधीशले हेर्न नमानेपछि सरेको हो। सर्वाेच्चमा विचाराधीन सुन तस्करी सम्बन्धी मुद्दा पछिल्ला समय न्यायाधीशले हेर्न आनाकानी गर्दै आएका छन्।
३८ सय किलो र अन्य मुद्दा सर्वोच्चमा विचाराधीन छन्। ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा दायर भएका निवेदन पक्षका कानुन व्यवसायीले पनि बारम्बार हटाउँदै आएका छन्। न्याय परिषदले विराटनगर उच्च अदालतको थुनछेक आदेश विवादमा परेपछि न्यायाधीशहरुले उक्त मुद्दा हेर्नभन्दा पन्छाउनतिर लागेका हुन्।
२०७५ कात्तिक १५ देखि दर्ता भएका निवेदनमा हालसम्म २२ न्यायाधीशकहाँ इजलास तोकिएको छ। सर्वोच्चले त्यसमा फाइल मगाउने आदेश मात्र गरेको छ।
उक्त मुद्दा हालसम्म न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, शारदाप्रसाद घिमिरे, ईश्वर खतिवडा, पुरुषोत्तम भण्डारीले हेर्न नमिल्ने हुँदै स्थगित भएर मुद्दाको सुनुवाइ सरेको छ।
उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पनि हेर्न मिल्दैन। न्याय परिषदले सोही विवादमा छानबिन गरिरहेकाले परिषदसँग जोडिएकाले उनले हेर्न मिल्दैन।
मोरङ जिल्ला अदालतको आदेशविरुद्ध १२ आरोपितले सर्वोच्चमा निवेदन दिएका थिए। दोस्रो सुनुवाइमा सामान्य धरौटीमा छोड्ने विषयमा आदेश गर्न आरोपितहरुले अघिल्ला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पालामा चलखेल गरिरहेका थिए। उनको अवकाशसँगै यो मुद्दा नयाँ न्यायाधीशको इजलासमा पेशी तोकिएको छ। चलखेलकै लागि यसअघि पटक–पटक एकै न्यायाधीशको इजलासमा पेशी तोकिँदै आएको थियो।
करिब डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरीपैठारी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।