जनकपुर- जनकपुरधाम उप–महानगरपालिकाको तेश्रो नगरसभा केही कार्यपालिका सदस्यले बहिष्कार गरेका छन्। सोमबार आयोजित नगरसभामा ८ जना वडाध्यक्षसहित २४ जना कार्यपालिका सदस्यले नगरसभा बहिष्कार गरेका हुन्।
मेयर लालकिशोर साहले तानाशाह प्रवृतिमा विभिन्न प्रस्तावको निर्णय पारित गराउन खोजेको भन्दै नगरसभा बहिष्कार गरेको उनीहरुले बताएका छन्।
संघीय सरकारले ज्यालादारीमा कर्मचारी नराख्ने निर्देशन दिइसकेको अवस्थामा ज्यालादारीमै कर्मचारी राख्ने, आयव्यय विवरण अनावश्यक खर्च गरिएको र असहमति जनाउन नपाउने बन्देज लगाएपछि नगरसभा बहिष्कार गरेको बताएका छन्।
असन्तुष्ट कार्यपालिका सदस्यहरूले मेयर साहको तानाशाह प्रवृतिविरुद्ध विरोध जुलुस समेत प्रदर्शन गरेका छन्।
नगरसभा अघिको बैठकमा कुन-कुन विषयमा निर्णय गर्ने र आय व्यय प्रतिवेदन अध्ययनका लागि पटक-पटक माग गर्दा पनि समय नदिई अचानक सभा बोलाएर बलजफ्ती निर्णय पारित गराउन खोजेपछि आफ्नो असन्तुष्टि रहेको बताए।
वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले मापदण्ड विपरीत नगरसभा संचालन गर्न खोजेको र पेलहा मोडलले ज्यालादारीमा कर्मचारी राख्ने, आयव्यय विवरणमा सहमति जनाउन मेयर साहले निर्णय गराउन खोज्दा आफूहरू कार्यक्रम बहिष्कार गरी बाहिर निस्केको बताए। 'कुनै पनि विषयमा अध्ययन वा छलफल नै नगरी माइनटमा निर्णय हस्ताक्षर गर्न खोजेपछि आफ्नो असन्तुष्टि स्वरुप बहिष्कार गरेका हौं,' उनले भने।
कार्यपालिका सदस्यहरूले सभा बहिष्कार गरेको जिज्ञासामा मेयर साहले भने, ‘बहिष्कार होइन, प्रस्तावमा छलफल गरिएको हो। सबै प्रस्तावमा सहमति असहमति हुने प्रक्रिया हो। तर कार्यक्रम बहिष्कार कसैले गरेको छैन।’
असन्तुष्ट कार्यपालिका सदस्यलाई सहमतिमा ल्याउन साढे ७ बजे भनिएको नगरसभा दिउँसो करिब साढे १२ बजेतिरे सञ्चालन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।