जनकपुर- धनुषाको महेन्द्रनगरमा १४ वर्षीया बालिकामाथि बलात्कारका दोषीलाई कडा कारबाही माग गर्दै सो क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ। प्याब्सनको आह्वानमा महेन्द्रनगरका निजी विद्यालयहरु बन्द गरिएको हो।
बलात्कारका दोषीलाई कडा कारबाहीको माग गर्दै प्याब्सनको क्षीरेश्वरनाथ नगरपालिका नगर ईकाई कमिटीको आह्वानमा नगरका सबै निजी विद्यालयहरु बन्द गरिएको हो। प्याब्सन नगर कमिटि अध्यक्ष सुजित कापरीले दोषीलाई कडा कारबाही तथा कानुनी प्रक्रिया चाँडोभन्दा चाँडो पूरा गरी अदालतमा पेस गर्न दबाब दिन सोमबार एक दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको बताए।
कडा कारबाहीको मागसहित प्याब्सनको ज्ञापन पत्र
यसैबीच प्याब्सनको क्षीरेश्वरनाथ नगर कमिटीले दोषी उपर कडा कारबाही माग राख्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमार्फत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र क्षीरेश्वरनाथ नगरपालिका कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन्।
प्याब्सन नगर अध्यक्ष सुजित कापरीसहित धनुषा प्याबसनका अध्यक्ष गणेश साह र नगरका सचिव कृष्णा लामा सहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन्। साथै प्याब्सनले पीडित बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।
उता बलात्कारका दोषीलाई हदैसम्मको कारबाही माग गर्दै स्थानीयले गर्दै आइरहेको आन्दोलन तथा प्रदर्शन भने सोमबारदेखि स्थगित गरिएको छ।
पीडित परिवारजन तथा स्थानीय बुद्धिजिवी, अगुवासहित नागरिक समाजको बिहान बसेको सर्वपक्षीय बैठकले बलात्कार घटनाको आरोपीलाई पक्राउ गरी जबरजस्ती करणीको मुद्दा प्रक्रिया अघि बढेको हुँदा अदालतको फैसला नआएसम्म कुनै आन्दोलन तथा प्रदर्शन नगरिने निर्णय गरिएको छ।
कानुनी प्रक्रिया अघि बढिसकेको हुँदा कानुनको म्यादसम्म आवश्यक अनुसन्धान भइरहेको र स्वास्थ्य परीक्षणलगायतका घटनास्थलमा बरामद भएका प्रमाणहरुको टेस्ट रिपोर्टहरु आएर अदालतमा पेस नभइसम्म आन्दोलन तथा प्रदर्शन नगरिने नागरिक समाजले जनाएको छ।
राष्ट्रिय मानव अधिकार, इन्सेक, ओरेकसहित विभिन्न मानवअधिकारकर्मीसहितको टोलीले घटनामा चासो लिँदै अनुगमन तथा निरीक्षण गरिरहेको तथा कानुनको सबै निकायहरुले समेत घटनाबारे गम्भीरताका साथ हेरेको हुँदा स्थानीय नागरिक समाजले सम्बन्धित सबैलाई आन्दोलन तथा प्रदर्शन हाललाई स्थगित गर्न आग्रह गरेको छ।
पीडितका तर्फबाट अशोक ठाकुरले दोषीलाई पक्राउ गरी मुद्दा चलाई सकेको हुँदा आन्दोलन तथा प्रदर्शनजस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरे।
क्षीरेश्वरनाथ नपा ५ महेन्द्रनगरका एक १४ वर्षीय बालिकामाथि गत बैशाख १५ गते बलात्कार गरिएको थियो।
घरमा कोही नभएको मौका पारी बालिकालाई बेहोस हुने औषधी प्रयोग गरी सोही ठाउँ बस्ने ३३ वर्षीय राजकुमार साहले बलात्कार गरेको पीडितले दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमीर दाहालले पीडित पक्षले बैशाख १६ गते दिएको जाहेरीको आधारमा पीडक साहलाई पक्राउ गरेर जबरजस्ती करणीको गरी मुद्दा चलाइएको बताए। उनले घटनास्थलबाट बरामद भएको प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको उल्लेख गरे।
‘बलात्कार भएकै हो। सबुत प्रमाणहरु पनि दखिएकै छ। दोषीलाई कुनै हालतमा कारबाही हुन्छ। अहिले अनुसन्धानको क्रममा छौं,' निरीक्षक दाहालले भने, स्वास्थ्य परीक्षणको रिपोर्ट र ल्याब रिपोर्ट आउने बित्तिकै हामी आरोपीलाई अदालतमा उभ्याउँछौं।’
उनले कानुनी प्रक्रिया पूरा हुन केही समय लाग्ने हुँदा स्थानीयलाई धैर्य धारण गर्न आग्रह गरे।
यता पीडित बालिकाको उपचार काठमाडौंमा भईरहेको र स्वास्थ्य स्थितिमा सुधार आएको जानकारी बालिकाका परिवारले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।