काठमाडौं- भूकम्प प्रभावित नुवाकोट उर्लेनीका २४ घरपरिवारले सरकारी लगानीमा सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय बमोजिम सरकारको २ लाख रुपैयाँ अनुदान उपलब्ध गराएपछि उनीहरुले नुवाकोटस्थित साबिकको खरानीटार गाविस (हाल ताँदी गाउँपालिका) मा घर निर्माणका लागि ८ रोपनी जग्गा खरिद गरेका हुन्।
प्राधिकरणको स्वीकृतिमा जग्गा छनोट गरी सुरक्षित ठाउँको रुपमा रहेको उक्त जग्गा लाभग्राहीको नाममा दर्ता गरिएको प्राधिकरण कार्यकारी समितिका सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिए।
उक्त जग्गा खरिदका लागि प्राधिकरणले ४८ लाख रुपैयाँ निकासा गरेको थियो।
भूगर्भविद्हरुले गरेको अध्ययन अनुसार उक्त स्थान मानव बस्तीका लागि उपयुक्त नभएको पाइएपछि प्राधिकरणले उनीहरुलाई सुरक्षित स्थानमा सार्न पहल सुरु गरेको थियो। अध्ययन अनुसार नुवाकोटको विकट उर्लेनीमा रहेका ७१ घरपरिवार जोखिमयुक्त बस्तीमा बस्दै आएका छन्।
जोखिममयुक्त बस्तीबाट नयाँ स्थानमा सर्न घडेरी खरिद गरेका लाभग्राहीले सरकारी मापदण्ड पुर्याएर निजी आवास पुनर्निर्माणका लागि थप ३ लाख रुपैयाँ समेत अनुदान पाउनेछन्।
'सुरक्षित ठाँउमा घडेरी खरिद गरेका उनीहरुले एकीकृत बस्ती विकासको अवधारणा अनुसार घर पुनर्निर्माण सुरु गर्नेछन् र त्यस्तो बस्तीमा प्राधिकरणले सामाजिक पूर्वाधारको समेत विकास गर्नेछ,' कार्यकारी सदस्य शर्माले भने।
एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि अनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्ड अनुसार कम्तीमा १० घरपरिवारले एकीकृत बस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराई वा सहरी क्षेत्रमा ३ लाख रुपैयाँसम्म प्रतिघरपरिवारलाई पूर्वाधार विकास खर्च दिने व्यवस्था छ।
२०७४ असार २८ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दसौं बैठकको निर्णय अनुसार सरकारले जोखिमयुक्त बस्तीका भूकम्प पीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।