काठमाडौं– १ नम्बर प्रदेशको झापा र मोरङ जिल्लामा आज बिहान भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
झापाको बुद्धशान्ति गाउँपालिका-४ जोरलाभरमा स्कुल बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
बिहान सवा ९ बजे भित्री सडक खण्डमा कर्णाली उच्च माध्यामिक बोर्डिङ स्कुलको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करले सोही स्थान बस्ने पैदलयात्री ४१ वर्षीय राजेन्द्र जबेगुको घटनास्थलमा मृत्यु भएको हो।
बस र चालक सोही गाउँपालिका-१ बस्ने ४६ वर्षीय गोपाल बराईलीलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ।
त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१२ मंगलबारेमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने १० वर्षीया चन्द्रकला राजवंशीलाई बिहान साढे ९ बजे स्कुल जाने क्रममा ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको कोशी अन्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी बखरीले जनाएको छ।
ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।