काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडालाई पराजित गरेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २११ रनमै रोकियो ।
क्यानडाका लागि आरोन जोनसनले ४४ रन बनाए । समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए ।
नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेलको शतक मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो ।
रोहितले सर्वाधिक १०१ रन बनाए । १२७ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । गुल्शन झाले ३४ बलमा ४८ रनको क्यामिओ पारी खेले । अर्जुन कुमालले २३ रन बनाए ।
क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्दर सिंहले ३ विकेट लिँदा जहिर शिर्जादले २ विकेट लिए ।
यो शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो । त्यसपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । अब नेपालको ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।
आजको जितपछि लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा झरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।