काठमाडौं– मेलम्ची नगरपालिकाले इन्द्रावती तथा मेलम्ची नदी क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका लागि मेसिनरी औजार प्रवेशमा रोक लगाएको छ।
एक्स्काभेटर लगायका औजार नदी क्षेत्रमा प्रवेश गराइ ढुुंगा गिट्टी र बालुवा निकाल्न नगरपालिकाले रोक लगाएको हो।
क्रसर उद्योग व्यवसायी र सुरक्षा निकायसँग बैसाख २० गते बसेको संयुक्त बैठकपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। मेलम्ची नगरपालिका अन्तर्गत ९ वटा क्रसर उद्योगले अनुमति लिएका छन्। उनीहरूलाई शुक्रबार बेलुकी ६ः०० बजेदेखि लागू हुने गरी रोक लगाएको मेलम्ची नगरपालिकाले जनाएको छ।
संघीय मन्त्रालय, जिल्ला समन्वय समिति, आम उपभोक्ताको सुझावलाई ध्यान दिँदै क्रसर उद्यगले हाल उत्खनन कार्यमा प्रयोग गर्दै आइरहेका मेसिनरी औजारहरू सञ्चालनमा बन्देज लगाएको नगरपालिकाले जनाएको छ।
भूकम्प पश्चातको पुनर्निर्माण कार्यमा आवश्यक पर्ने गिट्टी, बालुवा, चिप्सको उत्पादन तथा वितरणमा सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र कार्यालयको निर्णयअनुसार नदीजन्य पदार्थको उत्खनन कार्यको लागि २०७५ माघ ७ गते देखि अनुमति प्रदान गरेको थियो।
नगरपालिकाले क्रसर उद्योगबाट हाल संकलन भएको नदीजन्य कच्चा पदार्थको मौज्दात परिमाण समेत एकिन गरी नदी तथा खोला क्षेत्रमा मेसिनरी औजारको प्रवेश कार्य बन्द गरेको हो।
नगरपालिका क्षेत्रभित्र रहेका क्रसर उद्योगहरूले ३ नं. प्रदेश सरकारबाट जारी गरेको नदीजन्य पदार्थको (संकलन र उपयोग) कार्यविधि, २०७५ मा उल्लेख भएका कानुनी प्रावधान र स्थानीय अनुगमन समितिले दिएका निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्ने समेत निर्णयमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।