रत्ननगर- चितवनको कुमरोज विश्वमै दुर्लभ एकसिंगे गैंडा हेर्न आउने पर्यटकहरुको आकर्षक गन्तव्य बन्न थालेको छ। सामुदायिक वनमा नै गैंडाको राम्रो वासस्थान भएकाले यहाँ आएका पर्यटकहरु गैंडा देखेर रमाउने गरेका छन्।
सामुदायिक वन घुम्दा गैंडा देखेरै फर्कने गरेकाले पनि यहाँ उनीहरु आकर्षित हुने गरेको बताउँछन् कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपाल। उनका अनुसार शनिबार करिब ३ सय पर्यटकले कुमरोज वन घुमे।
'बिदाको दिन धेरै पर्यटक आउँछन्,' उनले भने, 'झन्डै ३०/४० वटा जिपमा पर्यटकहरु आएर गैंडा हेर्छन्।’
चितवनको सौराहाबाट उत्तर पूर्व ५ किलोमिटर दूरीमा पर्छ कुमरोज। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत पर्ने सो ठाउँमा अहिले ५ देखि ७ वटा गैंडा छन्।
बाघ, हात्ती, भालु, चित्तल, मयुरलगायत वन्यजन्तु र चराचुरुंगिको राम्रो बासस्थानका हिसाबले यो सामुदायिक वन महत्वपूर्ण मानिन्छ। अझै गैंडा हेर्न भनेर आउने पर्यटकको संख्या बढी छ।
एकसिंगे गैंडा र बाघको बासस्थान बढेपछि वन अवलोकनका लागि पर्यटक बढी आउन थालेका हुन्। चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक जिप सफारी सञ्चालन गरिएको छ।
अघिल्लो वर्षमा ५० हजार भन्दा बढी भन्दा पर्यटकले कुमरोज घुमेकामा अहिले बढ्ने अनुमान गरिएको वनका कार्यालय सचिव नेपालले जानकारी दिए। उनका अनुसार वनमा पर्यापर्यटनबाट नै ७० देखि ८० लाखको आम्दानी हुन्छ।
गएको वर्षदेखि यहाँ जिप सफारी समेत सुरु भएपछि पर्यटकको थप आकर्षण बढेको छ। यहाँ आउने पर्यटकलाई जिप सफारीमा नेपालीलाई रु ५०, सार्क देशका लागि रु एक सय र बाह्य मुलुकका पर्यटकलाई रु २ सय लिने गरिएको छ।
जिपमा करिव १८ किलोमिटर जंगल घुमेर पर्यटकहरु रमाउँछन्। पहिले गैंडाका लागि यहाँ कृत्रिम ताल बनाउनु परेकामा अहिले गैंडाहरु उक्त वनमा प्रशस्तै देखिन थालेको छ। पछिल्लो तथ्यांकमा चितवन निकुञ्जमा ६०५ गैंडा छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।