काठमाडौं– मतृक व्यक्तिको समेत वृद्धभत्ता निकालेर खाने पूर्व गाविस सचिव पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले पूर्व गाविस सचिव प्रेम पुरीलाई पक्राउ गरेको हो।
मोरङको साबिकको बेलबारी गाविस–४ घर भएका पुरीलाई मंगलबार भक्तपुर लोकन्थलीबाट पक्राउ गरिएको सिआइबीको एसपी सुदिप गिरीले जानकारी दिए।
मृत व्यक्तिको समेत कागजात मिलाएर उनले सामाजिक सुरक्षा बापतको वृद्धभत्ता रकम लिएर भ्रटाचार गरेका थिए। उनलाई दोषी ठहर गर्दै विशेष अदालत काठमाडौंले २०७२ असार ३ गते ३ वर्ष कैद र १३ लाख १० हजार ३ सय ८९ रुपैयाँ जरिवनाको फैसला सुनाएको थियो।
उनले सप्तरीको साविकको कन्चनपुर गाविसको सचिव हुँदा (२०६८ चैत १२ गतेदेखि २०७० असार १५ गतेसम्म) र सप्तरीकै पिप्रा गाविसको सचिव हुँदा (२०७० असार २५ गतेदेखि २०७० चैत ३ गतेसम्म) मृत्यु भइसकेका व्यक्तिको कागजात मिलाएर रकम निकालेर भ्रष्टाचार गरेका थिए।
उनले मतृकको नाम किर्ते गरेर बिल भर्पाइ बनाएर रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
त्यस्तै उनले दलित बालबालिकाले पाउने पोषण भत्ता बापतको रकम समेत हिनामिना गरेका थिए। उनलाई फैसला कार्यान्वयनको लागि आज डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।