काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटार प्रकरणमा जोडिएका जो कोहीलाई पनि उन्मुक्ति नदिने बताएका छन्।
मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।
सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने समेत उनले दाबी गरे।
उच्च स्तरीय समिति वा आयोग बन्ने वा नबन्ने भन्नेबारे कुनै कुरा नखुलाएका उनले भने, 'कुनै सहिद वा नेताका नाम पनि बालुवाटार प्रकरणमा जोडिएको हुन सक्छन्।
तर मुलुकको नियम कानुनले व्यवस्था गरेका कुरा व्यवस्थापन गर्ने र ठेगान लगाउने जिम्मा सरकारको हो। यो काम सरकारले गर्छ।'
मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको राजकीय चीन भ्रमण सफल भएको मूल्यांकन गरेको बताउँदै नेपालले चीनसँगको सम्बन्ध बलियो बनाउँदा भारतलाई कुनै आपत्ति नहुने उनले बताए।
यातायात पारवहन प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल प्रशान्त महासागरसँग जोडिएकाले चीनसँग पारवाहन सम्झौता गर्दा अर्को छिमेकी देश रिसाउँछ भन्नु पञ्चायतकालीन मानसकिता भएको उनको भनाइ थियो।
'चाइना कार्ड वा इन्डिया कार्ड भन्ने कुरा पञ्चायतकालीन मानसिकताको उपज मात्र हो,' उनले भने।
उनले अब नेपाल प्रशान्त महासागरसम्म जोडिएको दाबी गरे। उनले भने, 'विशाखापटनम् र चीनका ४ र चीनका ३ सुख्खा बन्दरगाह प्रयोग गर्ने कुरा नेपालका सार्वभौम अधिकार हो। दुबै देशका समुद्रसम्म पुग्ने अवस्था सिर्जना हुने कुरा नेपालीका लागि गौरवको विषय हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।