काठमाडौं– नेपाली सुन्दरी नग्मा श्रेष्ठ आइतबार राति अमेरिकाको लस भेगासस्थित एक्सिस थिएटरमा आयोजना हुने ‘मिस यूनिभर्स’ को फिनालेमा सहभागी हुँदै छिन्। नेपालले ‘मिस यूनिभर्स’ मा पहिलो पल्ट भाग लिएको हो।
६६औं ‘मिस यूनिभर्स’ मा नेपालसहित ९२ देशका सुन्दरी सहभागी छन्। नग्माले अमेरिकाबाट नेपाल लाइभसँग कुराकानी गर्दै आफू प्रतिस्पर्धाका लागि तयार रहेको बताएकी छिन्।
‘यसका लागि मैले ५ वर्ष मिहिनेत गरेकी थिएँ, आज मेरो सपना पूरा हुँदैछ’, उनले भनिन्। सन् २०१२ मा ‘मिस नेपाल’ को रनर–अप भएदेखि नग्माले ‘मिस यूनिभर्स’ मा भाग लिने सपना देखेकी थिइन्। तर, नेपालसँग ‘मिस यूनिभर्स’ को फ्रेन्चाइज नभएकाले अहिलेसम्म भाग लिन पाएको थिएन।
नग्माले आफ्नै पहलमा नेपालको सहभागिता सुनिश्चित गरेकी हुन्। गत वर्ष उनी अमेरिका पुगेर ‘मिस यूनिभर्स’ आयोजक समितिका पदाधिकारीसँग कुराकानी गरेपछि यो वर्षदेखि नेपालले फ्रेन्चाइज प्राप्त गरेको थियो।
‘यसपालि निकै कडा प्रतिस्पर्धा छ,’ उनले भनिन्–‘तर, अन्य देशका प्रतियोगीभन्दा आफूलाई कम ठानेकी छैन। म अनुभवी प्रतियोगी पनि हुँ।’
नग्माले यसअघि तीन वटा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भाग लिइसकेकी छिन्। उनले २०१२ मा ‘मिस अर्थ’, २०१६ मा ‘मिस वर्ल्ड यूनिभर्सिटी’ र ‘मिस इको युनिभर्स’ मा भाग लिएकी थिइन्।
५ फिट ११ इन्ची उचाइकी २६ वर्षीया नग्मा ‘मिस यूनिभर्स’ मा भाग लिन दुई साताअघि अमेरिका पुगेकी थिइन्। उनले भोटका लागि सबै नेपालीसँग आग्रह समेत गरेकी छिन्।
‘मिस यूनिभर्स’ मा निर्णायकले छानेका १५ जना र एक जना भोटिङबाट गरी टप–१६ राउन्डमा प्रवेश गर्ने नियम छ।
नेपालसँगै यो प्रतियोगितामा कम्बोडिया र लाओस पनि पहिलो पल्ट भाग लिँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।