जनकपुर- प्रदेश २ को नाम र स्थायी राजधानीबारे सुझाव दिन गठित आयोगले प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। आयोगले प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई बिहीबार प्रतिवेदन बुझाएको थियो।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी आयोगका अध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरेका छन्।
प्रतिवेदन हस्तान्तरणपछि डा. हरिवंश झाले प्रदेशको नाम र राजधानीबारे जनता र जनप्रतिनिधिहरुको राय संकलन गर्न आठ वटै जिल्लाको सदरमुकाममा सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो। आयोगले जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघ/संगठन र सर्वसाधारण समेतको राय संकलन गरी आयोगले तयार पारेको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइएको हो।
कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगले जनभावना अनुरुप प्रस्तुत गरेको प्रतिवेदनमाथि मन्त्रिपरिषद्मा छलफल गरी नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजानै प्रतिबद्धता जनाए।
आयोगले ६ महिना लगाएर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा ६२ पृष्ठ छन्।
तर, प्रतिवेदनमा उल्लेखित बुँदाहरु खुलाइएको छैन।
प्रतिवेदन तयार गर्न ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो। सोमध्ये १७ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुझाव संकलन आयोगका सदस्यहरु सहितको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।