काठमाडौं- काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ।
विद्युतकाे माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु पर्ने बाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताए।
आर्थिक वर्ष २०५५/०५६ बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन। ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन्। काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ। समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन।
स्थानीयद्वारा निर्माणमा अवरोध भई ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजनास्थलको निरीक्षण गरेका छन्। घिसिङले स्थानीयले मुख्यरुपमा अवरोध गरेको खोकना, बुंमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएका थिए।

उनले ललितपुर महानगरपालिका-२१, खोकनामा ढालिएको २७ नम्बर टावरको पनि निरीक्षण गरेका थिए। स्थानीयले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको थियो।
‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ। तर, थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत भएर पनि ललितपुरमा दिन सकिँदैन’, घिसिङले भने, ‘स्थानीयले प्रसारण लाइन बनाउन दिंदैनन्, खडा गरिएका टावर ढालिदिन्छन्, अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति गर्ने? प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउँदैछ।’
यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै उनले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तरमा सुधार आउने विश्वास दिलाए। अहिले ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–बानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ। यो लाइन अहिले ‘ओभर लोडेड’ रहेकाे प्राधिकरणले जनाएकाे छ।
ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नु पर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शतप्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन्।
खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन बाहिरी चक्रपथको रुटसँगै निर्माण गर्नुपर्ने माग गरेका छन्। प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ। तर, स्थानीयले अधिग्रहण गरेको जग्गामासमेत काम गर्न दिएका छैनन्।

प्रसारण तारमुनि पर्ने ९ मिटर दायाँ र ९ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ। प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०-२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ। काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो।
प्रसारण लाइन आयोजनाको ललितपुरमा पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नुपर्नेछ। त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ। १५ वटा टावर खडा गरिएको छ। तार भने टाँगिएको छैन।
२८ किलोमिटर प्रसारण लाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ। स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष ०६६/६७ मा ठेक्का तोडेको थियो।
टावर निर्माणका सम्पूर्ण उपकरण पुरानै ठेकेदार कम्पनीले आपूर्ति गरिसकेको आयोजना प्रमुख सुनिल महतोले बताए। उनले अवरोध हटेर काम सुरु भएको ६ महिनाभित्रमा निर्माण सकिने अवस्था रहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।