काठमाडौं– आफ्ना माग पूरा गर्न राजनीतिक पार्टीहरुले सडक अवरुद्ध गर्ने शैली पुरानै हो। विरोध प्रर्दशनको मुख्य थलो नै सडक बन्दै आएको छ। सर्वसाधारणसमेत विभिन्न बहानामा सडक अरोधमा उत्रिन थालेका छन्। मंगलबार मात्रै कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि दिनभर सडक अवरुद्ध भयो। जसकारण गन्तव्यमा हिँडेका थुप्रै यात्रु अलपत्रमा परे।
यसरी यो वा त्यो नाममा हुने सडक अवरुद्धलाई सधैंका लागि बन्द गर्न सशस्त्र प्रहरी बल (एपिएफ) ले एउटै छुट्टै टोली गठन गर्न लागेको छ।
एपिएफले सडक अवरोध हटाउन लोकमार्ग सुरक्षार्थ गुल्म गठनको तयारीको थालेको हो। लाइफलाइन सडक तथा मुख्य राजमार्गहरु बन्द हुँदा गन्तव्यमा हिँडेका यात्रुलाई समस्या हुने र सडक बन्दकै कारण दैनिक लाखौं राजस्व घाटा हुने भएकाले लोकमार्ग सुरक्षार्थ गुल्म गठन गर्न लागिएको हो।
उक्त गुल्म गठनका लागि गृह मन्त्रालयसँग छलफल भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले जानकारी दिए। यो गुल्मको मुख्य उद्देश्य राजमार्ग निर्बाध रुपमा सुचारु गर्नु हो।
जिल्लामा खटिएका सुरक्षाकर्मीहरु अन्य शान्तिसुरक्षामा खटिनुपर्ने र सीमा नाकाका जिल्लामा खटिएका सशस्त्र प्रहरी बोर्डरको सुरक्षामा डट्नुपर्ने भएकाले राजमार्ग सुरक्षाका लागि छुट्टै टोली बनाउनुपर्ने आवश्यकता रहेको सशस्त्र हेडक्वार्टरको भनाइ छ।
‘राजमार्गहरुलाई अझ सुधार गर्ने हो भने एउटा छुट्टै सुरक्षा युनिट चाहिन्छ भन्ने कन्सेप्ट अनुसार यो योजना अघि आएको हो,’ सशस्त्रका डिआइजी श्रेष्ठ भन्छन्, ‘यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ। मन्त्रालय पनि सकारात्मक नै देखिन्छ।’
पहिलो चरणमा पूर्व-पश्चिम राजमार्गका मुख्यमुख्य स्थानमा युनिट खडा गरिने र दरबन्दी थप भएसँगै अन्य राजमार्गमा पनि विस्तार गरिने योजना रहेको सशस्त्र हेडक्वार्टरले जानकारी दियो।
राजमार्गका ठाउँ-ठाउँमा सुरक्षाकर्मी खटाइपछि त्यहाँको अवस्थाबारे तत्कालै जानकारी हुने र बल प्रयोग गर्नुपर्ने ठाउँमा बल प्रयोग गरेरै भए पनि तत्कालै राजमार्ग खुलाउन सकिने सशस्त्रले जनाएको छ। तीन चरणमा लोकमार्ग सुरक्षार्थ गुल्मको विस्तार गर्दै जाने सशस्त्रको योजना छ। जसका लागि दरबन्दीसमेत माग गरेर पठाएको सशस्त्र स्रोतले जानकारी दियो।
दरबन्दी थप भएर आएको अवस्थामा छुट्टै युनिट खडा गरेर चाँडै सञ्चालन गरिने बताइएको छ। तर अहिले नै यति दरबन्दी आवश्यक भनेर यकिन भइनसकेको प्रवक्ता श्रेष्ठले बताए। पहिलो चरणमा पूर्व-पश्चिम राजमार्गका मुख्यमुख्य स्थानमा युनिट खडा गरिने र दरबन्दी थप भएसँगै अन्य राजमार्गमा पनि विस्तार गरिने योजना रहेको सशस्त्र हेडक्वार्टरले जानकारी दियो।
यसरी राजमार्ग सुरक्षामा खटिने टोलीलाई उद्धारका उपकरणहरु पनि दिइनेछ। दुर्घटना भइहालेको अवस्थामा वा बाढी पहिरो लगायतबाट सडक अवरुद्ध भएको अवस्थामा त्यस्ता उपकरणको प्रयोगले सडक सञ्चालन गरिनेछ। गत वर्ष गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक गरेको गृह प्रशासन सुधार योजनमा समेत सडक अवरुद्ध भएको केही मिनेटमै खोलिसक्ने योजना सार्वजनिक गरेका थिए। उक्त योजना अनुसार नै सडक सुरक्षार्थ गुल्मको गठन योजना अघि बढेको हो।
ड्रोनबाट सीमाको निगरानी
सीमा नाकाबाट हुने अपराधजन्य घटनाको निगरानी ड्रोन क्यामेराबाट गरिने सशस्त्रले जनाएको छ। सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउनका लागि ड्रोन क्यामेरा, सिसिटिभी, मेटल तथा विस्फोटक पदार्थ डिटेक्टर, वाक थ्रु गेट, सवारीसाधनको लगेज स्क्यानिङ मेसिन र कुकुर स्निफिङको व्यवस्था गर्ने योजना सहितको प्रस्ताव सशस्त्र प्रहरी बलले गृहलाई पेस गरेको छ।
सीमा सुरक्षाकै लागि सशस्त्रले बोर्डर आउट पोस्ट (बिओपी) संख्या पनि २ सय ६५ पुर्याउने जनाएको छ। अहिले १ सय ६ वटा बोर्डर आउट पोस्ट छन्। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसले उत्पन्न गर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै छुट्टै साइबर क्राइम तथा इन्फर्मेसन टेक्टोलोजी सेल खडा गर्ने सशस्त्र प्रहरी बलको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।