उद्धारपछि राजकला महतारालाई कर्णाली प्रदेश अस्पताल लगिँदै। तस्बिर-पूर्ण रावल।
काठमाडाैं- जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकाेप्टरबाट उद्धार गरिएको छ।
बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरेको हो। १४ गते राति २ बजेदेखि उच्च रक्तस्रावले अनमी नेपाली बिरामी परेकी थिइन्।
दाङ, घोराही उपमहानगरपालिका–१५ स्थायी निवासी ३३ वर्षीया अनमी नेपालीको उद्धारको पहल भइरहेका बेला ओदानचुली गाउँपालिका निवासी राजकला महतारा पनि सुत्केरी भएर समस्या भएपछि थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेतमा ल्याइएको सामाजिक विकासमन्त्री रावलले बताए।
अनमी नेपाली ३ महिना पहिले गर्भ खस्दा औषधि गरेर आफ्नो कार्यक्षेत्र हुम्ला मेल्छाम स्वास्थ्य चौकीमा फर्किएकी थिइन्। यता सुत्केरी व्यथा लागेकी महतारा बच्चा जन्माउन नसक्दा मङ्गलबारदेखि पीडा सहेर बसेकी बताइएकाे छ।
उपचारका लागि दुवैलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ। नेपाली र महताराको स्वास्थ्योपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले जानकारी दिए।
मन्त्री रावलले केही समयका लागि हेलिकाेप्टरबाट उद्धार गरिए पनि प्रत्येक स्थानीय तहमा एक/एक वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेर एक/एक जना विशेषज्ञ चिकित्सक राख्ने बताए।
यसका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र त्यहाँबाट सम्भव नभएको खण्डमा प्रदेश सरकारले आफ्नै खर्चबाट भए पनि त्यस्तो सेवा उपलब्ध गराउने योजना बनाएको मन्त्री रावलको भनाइ छ।
कर्णाली प्रदेश सरकारले गत वर्षदेखि कर्णाली क्षेत्रका सुत्केरी तथा गर्भवती बिरामीलाई हेलिकाेप्टर चार्टर्ड गरेरै अस्पतालसम्म ल्याउने गरिरहेकाे छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।