– विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली/रासस
ल्हासा- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआई’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताएका छन्।
ल्हासाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले यस क्षेत्रको भ्रमणमा आएका प्रतिनिधिमण्डलको सम्मानमा यहाँ आयोजना गरेको रात्रिभोजमा मे महिनादेखि लागू हुने गरी खुल्न लागेकाे तातोपानी नाकाका सम्बन्धमा धन्यवाद दिए।
उनले दृढ मनसाय भएमा जस्तोसुकै स्थानमा पनि विकास र प्रगति गर्न सकिन्छ भन्ने प्रमाण तिब्बतले दिएको बताउँदै तिब्बतले पूर्वाधार, पर्यावरण, प्रविधि तथा जनताको जीवनस्तर उकास्न प्राप्त गरेको सफलताप्रति बधाई दिए।
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र समितिका उपसचिव तथा तिब्बत स्वशासित क्षेत्रका सरकारका अध्यक्ष छी झालाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच भएको सहमति तथा समझदारीलाई कार्यान्वयन गरिने जानकारी दिए।

उक्त अवसरमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीकाे सहभागिता रहेकाे थियाे।
‘राजकुमारी वेनचेङ’ अवलोकन
परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार साँझ ल्हासामा मञ्चित राजकुमारी वेनचेङ नाटक अवलोकन गरे।
राजकुमारी वेनचेङ नाटक खुला स्थानमा प्रत्यक्ष देखाइने नाटक हो र यसले चिनियाँ र तिब्बती इतिहास तथा संस्कृति देखाउँछ। करीब १३ सय वर्ष अगाडि ताङ वंशका राजकुमारी वेनचेनले टुबो राजा सोङत्सेन गम्पोसँग विवाह गरेकी थिइन्। उनकै कथामा यो नाटक आधारित छ।
यो नाटक सन् २०१३ मा पहिलोपटक आरम्भ भएको हो र यसलाई एतिहासिक कथानकको रुपमा लिइन्छ। यसमा नाटक, सङ्गीत, नृत्य तथा आधुनिक कोरियोग्राफीमार्फत् ताङ वंश र प्राचीन तिब्बतको मौलिक दृश्य देखाउन खोजिएको छ।
करीब ९० मिनेटको राजकुमारी वेनचेङ नाटकमा पाँच भाग रहेका छन् - ‘प्राचीनताङ वंशको आकर्षण’, ‘स्वर्ग र पृथ्वीको बौद्ध सङ्गीत’, ‘तिब्बती नृत्यको महान सौन्दर्य’, ‘पठारका देवता’ तथा ‘तिब्बती तथा हानबीच सुन्दरताको समन्वय’। हरेक भागमा ताङ तथा प्राचीन तिब्बतलाई पुनर्स्थापना गर्ने साना उपभाग रहेका छन्।
पृष्ठभूमिमा ल्हासाको व्यापक दृश्य देखाइन्छ। यो नाटक मञ्चन गर्न २४ हजार ६११.८ वर्गमिटर भूमि उपयोग हुन्छ। यसलाई ४ हजारभन्दा बढी दर्शकले हेर्न सक्छन्। व्यापक नाटक भएकाले यहाँ अभिनय गर्ने कलाकारको सङ्ख्या ८ सयभन्दा बढी छ। यो नाटक तयार गर्न ७५ करोड युआन खर्च भएको बताइन्छ।
यो नाटक चिनियाँ सत्यकथामा आधारित छ। राजकुमारी वेनचेङ ताङ तथा टुबो वंशबीच मित्रतामा महत्वपूर्ण भागको रुपमा लिइन्छ। ताङ वंशमा राजा ताई जोङका पालामा केही राज्यले शान्तिका लागि अन्तरराज्य विवाहका प्रस्ताव राखेका थिए। टुबो राजा सोङत्सेन गम्पोले पनि ताङ वंशसँग मैत्री र समन्वयको सम्बन्ध राख्न खोजे।
.jpg)
राजकुमारी वेनचेङ त्यसपछि तिब्बततर्फ प्रस्थान गरिन् र एक वर्षको यात्रामा उनले ताङ वंशको कृषि, बुनाई, औषधि उपचार तथा चिकित्साप्रविधि जस्ता सभ्यता तथा अन्य सीप तिब्बतका प्रत्येक क्षेत्रमा फैलाइन्। त्यसपछि ताङ र टुबो वंशबीच मित्रता नजिकको भयो।
यस नाटकले प्राचीन चिनियाँ इतिहास मात्र उल्लेख गर्दैन, तिब्बती र चिनियाँ शास्त्रीय संस्कृतिलाई पनि प्रदर्शन गर्छ। यसमा पोशाक पनि प्राचीन शैलीको छ। यहाँ गा, तगाझुओ नृत्यमा ३ सय भन्दा बढी कलाकारले भाग लिन्छन्। यहाँ उपयोग भएका गाई, भेडाच्याङ्ग्रा, याकजस्ता सबै प्राणी जीवित हुन्।
यहाँ दृश्यको 'सिमुलेसन' तयार गरिएको र त्यसको आकार निकै ठूलो छ। पोताला र जोखाङ विहारको त्रिआयामिक सिमुलेसन १ सय ६० मिटर लामो छ। पोतालाको दृश्य ४० मिटर लामो र २० मिटर अग्लो छ।
विस्तृत प्रकाशबाट बनेका फूलको बगैँचा, गहुँ खेत तथा प्रार्थनाका झण्डा निकै आकर्षक देखिन्छन्।
थामागाउँको भ्रमण
परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार नै इन्टेलिजेन्ट ग्रिनहाउस एण्ड डेरी प्राेडक्ट प्रोसेसिङ फ्याक्ट्रीको भ्रमण गर्नुका साथै त्यहाँ हुने उत्पादनका विषयमा जानकारी लिए।
इन्टेलिजेन्ट ग्रिनहाउस एण्ड डेरी प्रडक्ट प्रोसेसिङ फ्याक्ट्रीको आफ्नै गाईपालन फार्म रहेको छ भने यस संस्थाले दूध, दही र दूधजन्य अन्य परिकार उत्पादन गर्छ।
परराष्ट्रमन्त्री ज्ञवालीले बुधबारै थामागाउँको भ्रमण पनि गरे। ल्हासाको थामागाउँ साझेदारीमा कम्पनी स्थापना गरी, भूमि एकीकृत गरी, त्यसको व्यापारिक उपयोग गर्ने नमूना संस्थाको रुपमा रहेको छ। यस गाउँमा जग्गा एकीकरण गरी बस्ती तथा बजार विकास गरिएको छ। यहाँ भ्रमण गरिएको एक घरमा पाँच व्यक्तिको परिवार देखियो। उनीहरुले स्थापना गरेको कम्पनीले बनाएका एक घर १० लाख युआनमा खरिद गरेका छन्।
कम्पनीले यस परिवारका हरेक सदस्यलाई प्रतिवर्ष ३ लाख युआन उपलब्ध गराउँछ। हरेक परिवारलाई दुई पसल कबाेल पनि दिइएको छ र उनीहरुले एउटा पसलमा आफैँले व्यापार गर्नुपर्छ। यस कम्पनीको समूहमा १ हजार ९ सय ५० परिवार रहेको र उनीहरुलाई पाँच समूहमा विभाजन गरेको जानकारी ती घर परिवारका सदस्यले दिए। यी सदस्यले आफूले बचत गरेको रकम पुनःकम्पनीमै लगानी गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।