जनकपुर- जनकपुर बमकाण्डमा मारिएका सहिदहरुको सम्झनामा जनकपुरसहित प्रदेश २ को विभिन्न स्थानमा बुधबार बलिदानी दिवस मनाइएको छ। मिथिला राज्य संघर्ष समितिको आयोजनामा भएको सो समारोह सम्पन्न भएको हो।
मिथिला राज्यको माग गर्दै २०६९ साल वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भइरहेको शान्तिपूर्ण धर्ना कार्यक्रममा बम विस्फोट हुँदा ५ जना सहिद भएका थिए भने २ दर्जनभन्दा बढी घाइते भएका थिए।
सहिद हुनेहरुमा मिथिला नाट्यकला परिषद्का कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरण थिए।
बम विस्फोटको बेला धर्ना कार्यक्रममा सहभागी रहेका मिथिला राज्य संघर्ष समितिका सदस्य जीवनाथ चौधरीले यस्तो विस्फोट हुन्छ भन्ने कुराको आफुहरुले कल्पनासम्म नगरेको बताए।
‘हामी बसिरहेकै बेला जोडले आवाज आएको थियो, कहाँबाट आएको त्यो सोच्नसम्म नभ्याएको बेला मेरै अगाडी कतिजना लडेका थिए,’ उनले भने।
बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’सहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय हालै सुनाइएको छ।
जिल्ला अदालत धनुषाले टक्लासहित ७ जनालाई जन्मकैदको फैसला गरेको छ।
बमकाण्ड घटनामा एक जनालाई ५ वर्ष र एक जनालाई सफाइ दिइएको छ।
जन्मकैदसहित १२ वर्ष सजाय पाउनेहरुमा भूमिगत संगठनका मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झा छन्।
ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।