दाङ- दाङमा चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म करिब ३० प्रतिशत विकास बजेट खर्च भएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म २९.८५ प्रतिशत विकास बजेट खर्च भएको हो।
जिल्लामा हालसम्म चालू आर्थिक वर्षका लागि चार अर्ब ७३ करोड ८२ लाख ५५ हजार १७० रुपैयाँको अख्तियारी आएको प्रमुख कोष नियन्त्रण शुकदेवप्रसाद बाँस्कोटाले जानकारी दिए। कात्तिक समान्तसम्म जिल्लामा एक अर्ब ४१ करोड ४५ लाख ३२ हजार १६० रुपैयाँ खर्च भएको छ।
तर, अघिल्लो वर्षका विकास निर्माणका कामले भने गति लिन सकेका छैनन्। पेश्की लिएर पनि काम नगर्ने प्रवृत्तिले फिल्डमा भने काम सन्तोषजनक देखिएको छैन। मध्यपहाडी लोकमार्गमा भएको प्रगतिले मात्रै विकास सूचक सन्तोषजनक देखिएको हो।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बाँस्कोटाका अनुसार औसतमा हेर्दा चार महिनामा ३३ प्रतिशत हुनुपर्ने भए पनि यो विकास बजेट खर्च सन्तोषजनक नै हो। पहिलो चौमासिकमा विकाससम्बन्धी ठेक्का प्रक्रियामा समय लाग्ने जाने भएकाले काम कम हुने गर्छ।
स्थानीय तह तथा संघ र प्रदेशको चुनावको कारण पनि कम खर्च भएको जानकारहरु बताउँछन्। स्थानीय तहहरुमा अहिलेसम्म उपभोक्ता समिति समेत गठन हुन सकेका छैनन्। समिति गठन हुन नसकेर पनि विकास निर्माणका काम सुरु नभएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।